काठमाडौं, जेठ २१
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका बीमितहरूले अब आफ्नो विवरण आफैँ हेर्नसक्ने भएका छन् । ग्राहकहरूलाई सरल तथा सुलभ सेवा पु-याउन नवीनतम योजनाहरू ल्याउन सदैव अग्रणी कम्पनीले लकडाउनको अहिलेको परिस्थितिमा बीमितहरूले सहजरूपमा बिनाकुनै झन्झट घर बसेरै सिटिजन लाइफ इन्स्योरेन्सको मोबाइल एपमार्फत आफ्नो विवरण आफैँ हेर्न सकिने सेवा (युुजर पोर्टल)को शुभारम्भ गरेको हो ।
सिटिजन लाइफको एप सजिलै प्लेस्टोरबाट डाउनलोड गर्न सकिन्छ । त्यहाँबाट लग इनमा गएर पोलिसी होल्डर छनौट गरी आफ्नो पोलिसी नम्बर र पासवर्ड राखेर आफ्नो सम्पूर्ण विवरण हेर्न सकिनेछ । यस एपमार्फत बीमितले लिएको बीमा योजना, कुलबीमांक रकम, आफूले अहिलेसम्म तिरेको बीमा शुल्कको विवरण साथै भविष्यमा कहिले र कति नवीकरण शुल्क तिर्नपर्छ भन्ने कुराको सम्पूर्ण जानकारी लिन सकिन्छ । बीमा योजना खरिद गरिसकेपछि आफ्नो विवरण बुझ्न बारम्बार आफ्नो अभिकर्ता वा कम्पनीसँग सोधिराख्नुपर्ने झन्झट यस सुविधाको शुभारम्भसँगै समाप्त भएको छ । साथ साथै सिटिजन लाइफको यो एपमा बीमा शुल्कसहितको प्रिमियम शुल्क गणना गर्ने प्रिमियम क्याल्कुलेटर सुविधा, कम्पनीको सम्पूर्ण योजनाहरूको बारे विस्तृत जानकारी, एजेन्ट पोर्टल र कम्पनीको सबै शाखा कार्यालयहरूको विवरण पनि उपलब्ध छ ।
यसका साथै कम्पनीले ग्राहकहरूको सुविधालाई मध्यनजर गरी सदैव आधुनिक तथा नवीनतम प्रविधिलाई ग्राहकको सेवामा ल्याउने योजनाअनुसार अहिलेको यस परिस्थितिमा, घरमै बसेर ई–सेवा, फोन–पे, कनेक्ट आईपीएसलगायतका डिजिटल बैकिङ सुविधा मार्फत बीमा शुल्क तिर्न सकिने व्यवस्था गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १४ करोड ३९ लाख २३ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । हाल चुक्ता पुँजी एक अर्ब ७५ करोड रूपैयाँ रहेको कम्पनीले गत आवको सोही अवधिमा १२ करोड १४ लाख ३४ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।