काठमाडौँ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को ७७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुुकको विकास र समृद्धिका लागि देशमा परिवर्तन आवश्यक भएको बताएका छन् ।
पूर्वप्रधानमन्त्री ओलीले देशको परिस्थिति छिटोछिटो हिँडेको उल्लेख गर्दै यथास्थितिको अन्त्य र अग्रगमनका लागि देशमा परिवर्तन आवश्यक भएको उल्लेख गरे ।
अब हुने २०८४ सालको निर्वाचनमा एमाले राष्ट्रिय शक्तिका रुपमा निर्वाचित हुने र त्यसलाई निर्णायक शक्तिका रुपमा विकसित गरी मुलुकको विकास र समृद्धिमा तीव्रतापूर्वक काम गर्ने अभियान जारी रहने अध्यक्ष ओलीले बताए । उनले देशमा जस्तो सुकै परिवर्तन भए पनि आफूहरुले ‘मिसन-२०८४’ न छाड्ने बताए ।
अध्यक्ष ओलीले कृषिको आधुनिकीकरण र औद्योगिक क्षेत्रमा व्यापक विकास गरेर रोजगारी बढाउनुपर्नेमा जोड दिदै जिफन्टका नेता–कार्यकर्तालाई मजदुर र तल्लो वर्गको हितका साथै सिङ्गो समाजको हितमा केन्द्रित भएर काम गर्न निर्देशन दिए ।
उनले युवाहरुलाई उद्यमशीलतामा परिचालित गरेर रोजगारी बढाउन आग्रह गर्दैे मजदुरहरुले हड्ताल र बन्द गर्न नपर्ने गरी नीतिगत र कानुनी प्रबन्ध गर्दै कार्यान्वयनमा लाग्न आग्रह गरे ।