लेखनाथ । कास्की प्रहरीले करिब सात करोड ठगी गरेको अभियोगमा पोखरा महानगरपालिका वडा नम्बर ९ मा रहेको विन्दवासिनी बचत तथा ऋण सहकारीको तीन जनालाई पक्राउ गरेको छ ।
आइतबार साँझ सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीले विन्दवासिनी सहकारीको छानबिन प्रतिवेदन बुझाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले ठगीमा सम्बद्ध थप व्यक्तिहरुविरुद्ध सोमबार पक्राउ पुर्जी जारी हुने र कारवाही अघि बढ्ने जानकारी दिए ।
१५ दिनअघिबाटै सम्पर्क निगरानीमा रहे पनि सहकारीका सचिव गङ्गाधर सुवेदी भने फरार भएको उनले बताए । सहकारीका अध्यक्ष सुवर्णमान नकर्मी, सञ्चालक समिति सदस्य कृष्णमान श्रेष्ठ र मेडिकल व्यवसायी उदित पौड्याल पक्राउ परेका हुन् ।
बचतकर्ताहरुले सहकारीको रकम हिनामिना भएपछि छानबिन माग गर्दै सहकारी रजिष्ट्रारको कार्यालयमा उजुरी दिए पछि सहकारी रजिष्ट्रारको कार्यालयले छानबिन गर्दा झण्डै सात करोड रुपियाँ हिनामिना गरेको पुष्टि भएको छ ।
सहकारी रजिष्ट्रार कार्यालयको प्रतिवेदनले अध्यक्ष नकर्मी र सचिव सुवेदीले मिलेर अरुको किर्ते हस्ताक्षर गरी रकम दुरुपयोग तथा हिनामिना गरेको औँल्याएको छ । सहकारीको नाममा रहेको तीन रोपनी जग्गा किर्ते गरी बेचेर रकम हिनामिना गरेको उनीहरुमाथि आरोप छ ।