काठमाडौं, जेठ २१
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले क्षेत्रीयस्तरको सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । प्राप्तिमा जानेसम्बन्धी प्रस्ताव पारित गर्नको लागि सहयोगीले यही जेठ २४ गते १६औं वार्षिक साधारणसभाको आह्वान गरेको छ । यसअघि सहयोगीले चैत १० गते नै वार्षिक साधारणसभाको आह्वान गरेको थियो । तर, विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को महामारीलाई नियन्त्रणमा लिनको लागि सरकारले चैत ११ गतेदेखि नै लकडाउनको घोषणा गरेपछि बैंकले वार्षिक साधारणसभा स्थगित गरेको थियो । तर, पछिल्लो पटक भने बैंकको यही जेठ १५ गते बसेको सञ्चालक समितिको दुई सय ९९औं बैठकले यही जेठ २४ गते बैंकको केन्द्रीय कार्यालय धनुुषामा १६औं वार्षिक साधारणसभा गर्ने घोषणा गरेको हो । उक्त सभामार्फत सहयोगीको एक सय कित्ता सेयर बराबर सिटिजन्सको ९१ दशमलव ७५ कित्ता अर्थात् १ः०.९१७५ बराबरको सेयर स्वाप रेसियो कायम गर्ने प्रस्ताव पारित गर्नेछ ।
सिटिजन्स बैंकले सहयोगीलाई प्राप्ति गरेपश्चात् बैंकको चुक्ता पुँजी नौ अर्ब १३ करोड आठ लाख ६५ हजार रूपैयाँ पुुग्ने छ । चालू आवको तेस्रो त्रैमासिक अवधिमा सिटिजन्सको चुक्ता पुँजी आठ अर्ब ६२ करोड २१ लाख ९७ हजार रूपैयाँ रहेको छ भने सहयोगीको चुक्ता पुँजी ५० करोड ९६ लाख ६८ हजार रूपैयाँ रहेको छ । प्राप्तिपश्चात् सिटिजन्सको निक्षेप ८२ अर्ब ५४ करोड २९ लाख ३९ हजार रूपैयाँ पुग्ने छ । हाल सिटिजन्सको निक्षेप ७७ अर्ब ८३ करोड ६५ लाख १३ हजार रूपैयाँ रहेको छ भने सहयोगीको निक्षेप चार अर्ब ७० करोड ६४ लाख २६ हजार रूपैयाँ रहेको छ ।
यसैगरी प्राप्तिपश्चात् सिटिजन्सको कुुल कर्जा ७९ अर्ब १७ करोड ५० लाख ९० हजार रूपैयाँ पुुग्नेछ । हाल भने सिटिजन्स बैंकको कर्जा ७५ अर्ब एक करोड ४२ लाख ६८ हजार रूपैयाँ रहेको छ भने सहयोगीको कुुल कर्जा चार अर्ब १६ करोड आठ लाख २२ हजार रूपैयाँ रहेको छ । सहयोगीलाई प्राप्ति गरेपश्चात् सिटिजन्सको कुुल नाफा एक अर्ब १८ करोड ३५ लाख २७ हजार रूपैयाँ पुुग्नेछ । हाल सिटिजन्स बैंकको नाफा एक अर्ब नौ करोड १२ लाख ४५ हजार रूपैयाँ रहेको छ भने सहयोगीको खुद मुनाफा नौ करोड २२ लाख ८२ हजार रूपैयाँ रहेको छ ।