काठमाडौं । चारदलीय नयाँ सत्तागठबन्धनमा राष्ट्रियसभा अध्यक्ष माओवादीलाई दिने सहमति भएको छ । सोमबार साँझ नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच राष्ट्रियसभा अध्यक्ष माओवादीलाई र उपाध्यक्ष एमालेलाई दिने सहमति भएको छ ।
सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेससँगको गठबन्धन तोड्दै एमालेसहित चारदलीय नयाँ गठबन्धन बनाएका थिए । साँझ तिनै चारदलबीच विभिन्न आठ बुँदामा सहमति भएको हो । लिखित गरिएको सम्झौताअनुसार सरकारको कामलाई प्रभावकारी बनाउन र मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूबीच सहकार्य गरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति गरेका छन् ।
चार दलले सरकारमा सहभागी भएका दलहरूका बीचमा आपसी सहमति गरी मन्त्रालयको बाँडफाँट गर्ने सहमति गरेका छन् । माओवादी केन्द्रले अर्थमन्त्रालय लिन चाहेको छ भने एमाले र रास्वपाले गृह मन्त्रालय दाबी गरेको बुझिएको छ । यद्यपी मन्त्रालय बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गर्ने र अन्य दललाई सहभागी हुन संवाद गर्ने सहमति पनि गरेका छन् ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुंग्याउने सहमति पनि चार दलबीच भएको छ । त्यसैगरी, संघीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने, सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्नेगरी सरकारमा सहभागी दलहरूका बीचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने पनि सहमति भएको छ । सहमति कार्यान्वयनका लागि मन्त्रिपरिषद् पुनर्गठन गरी सहमतिअनुसार नयाँ संयुक्त सरकार गठन गर्ने सहमति पनि गरेका छन् ।
राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न तथा समाजवादउन्मुख आर्थिक–सामाजिक विकासका लागि राजनीतिक स्थायित्वको दिशामा अघि बढ्न पनि चार दल सहमत भएका छन् ।
तीन मन्त्रीले लिए शपथ
प्रधानमन्त्री प्रचण्डले सोमबार सानो आकारको मन्त्रिपरिष्द गठन गरेका छन् । नेकपा एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्याल मन्त्री नियुक्त भएका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नै पद तथा गोपनीयताको शपथ गराएका छन् ।
नवनियुक्त मन्त्रीहरुको कार्यभार भने तोकिएको छैन । प्रधानमन्त्री प्रचण्ड आफैँले सबै मन्त्रालयको कार्यमार सम्हालेका छन् । शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।