काठमाडौं । यस वर्ष माग भएभन्दा झण्डै १० गुणाभन्दा बढी कामदारको आवेदन परेपछि उत्पादन बाहेकका कामदार लैजान नसक्ने भन्दै आगामी वर्षदेखि माग भएको तीन गुणा मात्र आवेदन भर्ने व्यवस्था गर्न कोरियाले आग्रह गरेको छ ।
इपिएस प्रणालीबाट विदेशी कामदार लैजाने प्रक्रिया हेर्ने एचआरडी कोरियाका अध्यक्षले यस वर्ष उत्पादनमूलदक क्षेत्रका लागि आवेदन दिएकाहरुको परीक्षा सक्नै एक वर्ष लाग्ने भएकाले अन्य क्षेत्रमा थप कामदार लैजान नसकिने भन्दै नेपाललाई पत्र पठाएका छन् । उनले पठाएको सो पत्र मङ्गलबार मात्र नेपालले प्राप्त गरेको छ ।
इपिएस कोरिया शाखाकी प्रमुख मैया कँडेलले नेपालबाट लैजानेभन्दा १० प्रतिशत बढीको आवेदन परेपछि परीक्षा सक्न एक वर्ष लाग्ने देखिएको बताएकी छिन् । उनले यस वर्ष दक्षिण कोरियाले नेपालबाट १५ हजार ९०० जनामात्र कामदार लाने व्यवस्था गरेको बताइन् ।
अन्य क्षेत्रमा नेपालमा भाषा परीक्षा नै लिन नसकिने भएका कारण ती क्षेत्रहरुमा अन्य देशहरुबाट नै कामदार लैजाने कोरियाले उक्त पत्रमार्फत नै जानकारी गराएको प्रमुख मैया कँडेलले जानकारी गराउँदै यसअघि नै परीक्षा र सीप उत्तीर्ण गरेर रोस्टममा रहेकाहरुलाई यो व्यवस्थाले कुनै असर नगर्ने बताउँछिन् ।