तेहरान, जेठ २१
इरानका विदेशमन्त्री मोहम्मद जावद जरिफले संयुक्तराज्य अमेरिकामा पक्राउ परेका इरानी वैज्ञानिक मुक्त भएर स्वदेश फर्कन लागेको बताएका छन् । मन्त्री जरिफले इरानी वैज्ञानिक डा. सिरोज असगरी सवार विमान अमेरिकाबाट इरानका लागि प्रस्थान गरिसकेको पनि बताएका हुन् । डा. असगरीमाथि अमेरिकी व्यापारिक गोपनीयता चोरी गरेको अभियोगमा सन् २०१६ मा पक्राउ गरिएको थियो । उनी त्यसबखत अमेरिकाको ओहायोमा प्राज्ञिक कामको सिलसिलामा भ्रमणमा गएका थिए । तेहरानको शरिफ प्रविधि विश्वविद्यालयका ५९ वर्षीय वैज्ञानिक डा. असगरलाई गत नोभेम्बरमा अमेरिकी एक अदालतले छाड्ने आदेश दिएको थियो ।
गत मार्चमा बेलायती अखबार दि गार्जियनले डा. सिरोजले आफूलाई अत्यावश्यकीय सरसफाइका सामान समेत नदिई लुजिआनास्थित अध्यागमनको थुनामा राखिएको भन्दै अन्तर्वार्ता दिएका थिए । सोमबार इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसभीले डा. असगरीमाथिको मुद्दा टुंगिएको जानकारी दिएका थिए । इरान र संयुक्तराज्य अमेरिका दुबैले एकअर्का मुलुकका केही नागरिकलाई बन्दी बनाएर राखेका छन् । इरानमा हालसम्म पनि कम्तीमा पाँच जना अमेरिकी नागरिक थुनामा छन् भने अमेरिकामा कम्तीमा १९ जना इरानी बन्दी छन् । (रासस–एएफपी)