काठमाडौं । बैंकिङ क्षेत्रमा हाल सञ्चालनमा रहेको निक्षेप खाताको संख्या पाँच करोड ३५ लाख नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा सञ्चालनमा रहेका निक्षेप खाताको संख्या पाँच करोड ३५ लाख ५० हजार तीन सय छ पुगेको छ । निक्षेप खाताको यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२ लाख २५ हजार तीन सय ६७ ले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकिङ प्रणालीमा कुल चार करोड ८३ लाख २४ हजार नौ सय ३९ वटा निक्षेप खाता सञ्चालनमा थिए ।
वाणिज्य बैंकहरुमा मात्र चार करोड ५९ लाख ११ हजार ४२ वटा निक्षेप खाता सञ्चालनमा छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२ लाख ८४ हजार आठ सय ८४ वटाले बढी हो । गतवर्ष पुस मसान्तमा वाणिज्य बैंकहरुमा चार करोड १६ लाख २६ हजार एक सय ५८ वटा निक्षेप खाता सञ्चालनमा थिए ।
विकास बैंकहरुमा गत पुस मसान्तसम्म कुल ६८ लाख दुई हजार पाँच सय ७० वटा निक्षेप खाता सञ्चालनमा छन् । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आठ लाख २५ हजार तीन सय २५ ले बढी हो । गतवर्ष पुसमा विकास बैंकहरुमा कुल ५९ लाख ७७ हजार दुई सय ४५ वटा निक्षेप खाता सञ्चालनमा थिए । फाइनान्स कम्पनीहरुमा सञ्चालनमा रहेका निक्षेप खाताको संख्या गत पुससम्म आठ लाख ३६ हजार छ सय ९४ छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक लाख १५ हजार एक सय ५८ले बढी हो । गतवर्ष पुस मसान्तमा फाइनान्स कम्पनीहरुमा सात लाख २१ हजार पाँच सय ३५ वटा निक्षेप खाता सञ्चालनमा थिए ।
अर्थतन्त्र सिथिल बन्दै जाँदा लगानीका सम्भावनाहरु खुम्चिँदै गएपछि बैंकमा निक्षेप राखेर ब्याज खानेहरु बढ्दै गएका छन् । बढ्दो माहँगीका कारण गतवर्ष उपभोग घटेको थियो । यही कारण बैंकिङ प्रणालीमा निक्षेप पनि बढेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा कुल ५३ खर्ब ६० अर्ब रुपैयाँ निक्षेप थियो । तर, यसवर्ष पुसमा बैंक तथा वित्तीय संस्थामा कुल ६१ खर्ब ३१ अर्ब रुपैयाँ छ । एक वर्षमा कुल सात खर्ब ७० अर्ब रुपैयाँ निक्षेप बढेको देखिन्छ । गत आर्थिक वर्षको पुस मसान्तमा ४७ खर्ब १७ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको कुल निक्षेप भने यस आर्थिक वर्षको पुस मसान्तसम्म सात खर्ब १२ अर्ब रुपैयाँले बढेर ५४ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ ।
विकास बैंकहरुको निक्षेप पनि गत वर्ष पुसमा पाँच खर्ब ३४ अर्ब रुपैयाँ रहेकोमा यसवर्ष पुसमा पाँच खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ । गत वर्ष पुसमा एक खर्ब १७ अर्ब रुपैयाँ रहेको फाइनान्स कम्पनीहरुको निक्षेप अहिले एक खर्ब नौ अर्ब रुपैयाँ पुगेको छ ।