मनाङ । हिमपहिराका कारण माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा समस्या हुने भएकोले ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा आइतबार आएको हिमपहिरालाई पन्छाउन थालिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिएका छन् ।
हिमपहिरो गएको स्थानसम्म पुग्न समय लाग्ने र सवारीसाधन पनि जान नसक्ने अवस्था भएकाले अहिले एक्साभेटर र सुरक्षाकर्मीसहितको टोलीले हिउँ फाल्ने काम गरिरहेको उनले बताए । आइतबार भारी हिमपात भएपछि उक्त क्षेत्रमा हिमपहिरो गएको हो ।
प्रजिअ लामिछानेले भने, “ मनाङ पर्यटकीय क्षेत्र भएकाले पर्यटक आउने याम सुरु भइसकेको छ । आज बेलुकीसम्म बाटो खुलाउने प्रयासमा छौँ ।” माथिल्लो मनाङ क्षेत्र आवतजावतमा जोखिम हुँदा यात्रा नगर्न सुझाव दिइएको उनले बताए ।