नयाँ दिल्ली, जेठ २१
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पक्का पनि आफ्नो आर्थिक विकासलाई पहिलेको अवस्थामा फर्काउने बताएका छन् । उनले भारतको आर्थिक विकास पहिलेको अवस्थामा फर्किने विश्वास व्यक्त गरेका हुन् । कोरोना भाइरसको संक्रमणका कारण विग्रिएको यहाँको अवस्था पहिलेको अवस्थामा आउने उनले बताएका हुन् । उनले मंगलबार भनेका छन्, ‘मलाई मेरो देशको क्षमता तथा संकटको व्यवस्थापनमा गर्न सक्ने कामका बारेमा थाहा छ त्यसैले मलाई लाग्छ हामी छिट्टै नै पहिलेको अवस्थामा फर्किने नै छौँ ।’
भारतको प्रविधि, यहाँको प्रतिभाका साथै अरु पनि धेरै विद्वान्हरुको क्षमताका बारेमा मलाई थाहा छ त्यसैले मलाई विश्वास छ कि हामीले यो कोरोना भाइरसको प्रकोपलाई जितेर पनि चाँडै नै आफ्नो गतिमा फर्किन सक्नेछौँ– प्रधानमन्त्री मोदीले मंगलबारको एक सम्बोधनका क्रममा भनेका छन् । उनले आफूलाई भारतका उद्योगी तथा व्यवसायीको र भारतका किसानाहरुप्रति ठूलो भर र विश्वास रहेको भन्दै यसैकारणले पनि भारत पहिलेकै अवस्थामा फर्किने बताए ।
कन्फिडरेसन्स अफ इन्डियन इन्डष्ट्रिजको १२५ औँ वार्षिक बैठकलाई मंगलबार बिहान भिडियोमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सो धारणा राखेका हुन् । उनले देशमा कारोना भाइरसको समस्या भएका बेलामा हालैका दिनमा धेरै क्षेत्रमा अनलाइन कार्यक्रमहरु भइरहेको बताए । जस्तै अप्ठ्यारो परिस्थितिमा पनि त्यसको समाधानको बाटो खोज्नु नै मानिसको क्षमता हो भन्दै अनलाइनका माध्यमबाट देशमा धेरै कामहरु भइरहेकोले त्यस कार्यको प्रशंसा गरे । (रासस/एएनआई)