काठमाडौं । बैंक तथा वित्तीय संस्थाले पछिल्लो एक वर्षमा दुई खर्ब ३८ अर्ब ४६ करोड ५० लाख रुपैयाँले कर्जा प्रवाह बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्म ४८ खर्ब ५० अर्ब १९ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले यसवर्ष पुस मसान्तसम्म ५० खर्ब ७८ अर्ब ६६ करोड ६० लाख रुपैयाँ प्रवाह गरेका छन् ।
निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह न्यून छ । एक वर्षमा बैंकहरुको निक्षेप करिब आठ खर्ब रुपैयाँले बढेको छ भने कर्जा प्रवाह साढे दुई खर्बभन्दा कम छ । आर्थिक मन्दी र महँगीका कारण बजार प्रभावित भएको छ । उपभोग घटेर गएका कारण उत्पादन पनि कम गर्नुपरेको छ । उत्पादन नै घटाउनु परेपछि उद्यमीहरुले लगानीका लागि बैंकमा ऋणको माग निकै कम गरे । यहीकारण बैेंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह न्यून भयो । अर्कोतर्फ लगानीको वातावरण नभएको र ब्याजदर उच्च भएकाले बैैंकमा निक्षेप राख्नेहरु बढेका छन् । यहीकारण निक्षेपको आकारमा तीव्र वृद्धि भएको देखिन्छ ।
पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरुले दुई खर्ब दुई अर्ब ४५ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छ । एक वर्षअघि २०७९ पुस मसान्तमा वाणिज्य बैंकहरुको कुल कर्जा रकम ४२ खर्ब ८४ अर्ब ७१ करोड ५० लाख रुपैयाँ रहेकोमा अहिले बढेर ४४ खर्ब ८७ अर्ब १७ करोड २० लाख रुपैयाँ पुगेको छ । विकास बैंकहरुले पनि कर्जा प्रवाह बढाएका छन् । एक वर्षमा विकास बैंकहरुले प्रवाह गरेको कर्जा ३४ अर्ब ५० करोड ४० लाख रुपैयाँले बढेर चार खर्ब ९६ अर्ब ९४ करोड ५० लाख रुपैयाँ पुगेको छ । गतवर्ष पुस मसान्तमा यस्तो कर्जा चार खर्ब ६२ अर्ब ४४ करोड १० लाख रुपैयाँ थियो । फाइनान्स कम्पनीहरुले पनि एक वर्षमा एक अर्ब ५० करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह बढाएका छन् । गतवर्ष पुसमा ९३ अर्ब चार करोड ५० लाख रुपैयाँ रहेको फाइनान्स कम्पनीहरुको कुल कर्जा प्रवाह यसवर्ष पुसमा ९४ अर्ब ५४ करोड ४० लाख रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रमा कर्जा रकम बढे पनि कर्जा खाता संख्या भने सामान्य बढेको छ । गत आर्थिक वर्षको पुस मसान्तमा बैंक तथा वित्तीय संस्थामा १८ लाख ३३ हजार तीन सय ६५ वटा कर्जा खाता सञ्चालनमा थिए । यसवर्ष पुस मसान्तमा यस्तो खाता ३३ हजार नौ सय १८ वटाले बढेर १८ लाख ६७ हजार ८३ पुगेको छ ।
वाणिय बैंकमा गतवर्ष पुस मसान्तमा १५ लाख तीन हजार सात सय ६६ कर्जा खाता रहेकामा एक वर्षमा ३० हजार छ सय ५० ले बढेर पुस मसान्तमा १५ लाख ३४ हजार चार सय १६ पुगेको छ । यसैगरी विकास बैंकहरुमा पनि गत आर्थिक वर्षको पुस मसान्तमा दुई लाख ८७ हजार पाँच सय ८१ वटा कर्जा खाता सञ्चालनमा रहेकोमा अहिले दुई हजार नौ सय १० ले बढेर दुई लाख ८७ हजार पाँच सय ८१ पुगेको छ । फाइनान्स कम्पनीहरुको कुल कर्जा खाता यसवर्ष पुस मसान्तमा ४२ हजार एक सय ७६ वटा छ । जुन गतवर्ष पुस मसान्तमा भन्दा तीन सय ५८ ले बढी हो । गतवर्ष पुसमा ४१ हजार आठ सय १८ वटा कर्जा खाता सञ्चालनमा थिए ।