काठमाडौं । नेपालमा सर्वाधिक बिक्री हुने होन्डाका दुई पाङ्ग्रे सवारीको असेम्ब्ली अब नेपालमा नै हुने भएको छ । कम्पनीले भैरहवामा होन्डाको ‘असेम्ब्ली प्लान्ट’को स्थापना गरेको हो ।
कम्पनीका मुख्य बिजिनेस युनिटका भाइस–प्रेसिडेन्ट मिनोरु काटोले बुधबार एक कार्यक्रमका बीच सो प्लान्टको उद्घाटन गरेका छन् ।
कार्यक्रममा होन्डा कम्पनीका विभिन्न स्वदेशी तथा विदेशी प्रतिनिधिहरूको उपस्थिति थियो । एक सय ५० करोडको लगानीमा दुई लाख स्क्वाएर फुटको क्षेत्रफलमा रहेको यस प्लान्टले एक लाख वटा मोटरसाइकल र स्कुटर उत्पादनको क्षमता राख्ने कम्पनीले बताएको छ । होन्डा दुई पाङ्ग्रे सवारीमा नेपालकै सर्वाधिक बिक्री हुने ब्राण्ड हो । होन्डाको नेपालका लागि अधिकृत विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिका अनुसार नवस्थापित असेम्ब्ली प्लान्टसँगै आफ्नो सहायक कम्पनी हिमाल मोटो प्रालिमार्फत उत्पादनको बिक्री वितरण, पार्टपुर्जाको उपलब्धता र सर्विसिङ्गको सेवा झनै सहज र सुलभ हुनेमा कम्पनी विश्वस्त रहेको छ ।