काठमाडौं । काठमाडौं महानगरपालिका–२६ ठमेल नरसिंह चोकबाट नक्कलीजस्तो देखिने थाइभाट एक हजार दरको १४ थान नोटसहित पाकिस्तान कराची घर भएका ३४ वर्षीय शेरदाज खानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित गरिमा विकास बैंकबाट नोट साट्ने क्रममा नक्कली नोटजस्तो देखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो ।
बाराको सिम्रौनगढ नगरपालिका–४ हरिहरपुरबाट नेपाली एक हजार दरका आठ थान नक्कली नोटसहित महागढीमाई नगरपालिका–९ कञ्चनपुर बस्ने ३५ वर्षीय राम विनय सहनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले बीआर ०५ जे २१८१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।