काठमाडौं, जेठ २२
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा बन्दाबन्दीका अवस्थामा आर्थिक र सामाजिक गतिविधिलाई सहज बनाउने विषयमा बुधबार विज्ञहरुसँग परामर्श गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विभिन्न क्षेत्रका विज्ञले लकडाउन खुकुलो पार्न सुझाव दिएको बालुवाटार स्रोतले जनाएको छ । लकडाउन लम्बिँदै जाँदा सामाजिक जीवनमा झन् समस्या भएको कारण यसको मोडालिटी परिवर्तन गर्न विज्ञहरुले सुझाव दिएका थिए । उनीहरुले क्वारेन्टाइनको अवस्थामा सुधार गर्न र परीक्षणलाई तीव्र पार्न प्रधानमन्त्रीलाई भनेका थिए ।
उक्त छलफलमा उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री र स्वास्थ्यमन्त्रीसहित उच्च अधिकारी एवं डा. समीरमणि दीक्षित, अरुणा उप्रेती, स्वर्णिम वाग्ले, महेश मास्केलगायत विज्ञहरु सहभागी थिए । प्रधानमन्त्री ओलीले २५ जना विज्ञसँग गरेको छलफल करिब ४ घण्टा चलेको थियो । सरकारले यही जेठ ३२ गतेसम्म बन्दाबन्दी कायम गरेको र यहीबीचमा भारतलगायत तेस्रो मुलुकमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने योजना सार्वजनिक गरेको छ । आर्थिक र सामाजिक गतिविधिलाई क्रमशः सञ्चालन गराउनुपर्ने दबाब पनि सरकारलाई बढेको छ । कोरोना संक्रमित दुई हजार नाघेका अवस्थामा सीमित स्रोतसाधनमा उपचार र सचेतनाका लागि अपनाउनुपर्ने थप रणनीतिका विषयमा पनि विज्ञले सुझाव दिएको बुझिएको छ ।