काठमाडौँ, सत्ता गठबन्धनमा परिवर्तन र सरकारको पुनर्गठनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज पहिलोपटक प्रतिनिधिसभामा सम्बोधन गरेका छन् ।संसद्मा उठेका विषयप्रति सरकार गम्भीर हुने स्पष्ट गर्दै प्रधानमन्त्री दाहालले संसद्मा उठाइएका दुई युवा मारिएको बालकुमारी–घटनामाथि उठेका प्रश्न मन्त्रिपरिषद्को पुनर्गठनसँगै केही हदसम्म सम्बोधन भएको बताए ।“सरकार संसद्प्रति उत्तरदायी नभएको आरोप सत्य छैन । संसद्मा नियमित कार्यतालिका बनाएर सवाल जवाफ सुरु गर्ने प्रधानमन्त्रीमाथि लगाइएको त्यस्तो आरोप स्वीकार्य छैन ।
” प्रधानमन्त्री दाहालले मिटरब्याज (अनुचित लेनदेन) पीडितका समस्या समाधानका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता भइरहेको र सहकारी पीडितका समस्या समाधानका लागि राष्ट्रिय योजना आयोगमा कार्यदल बनाइ काम भइरहेको जानकारी दिए । समस्याग्रस्त लघुवित्त र सहकारीबाट नागरिकका बचत हिनामिना भएको भन्ने सम्बन्धमा नेपाल प्रहरीबाट छानबिन गरी कारबाही गर्न प्रक्रिया आरम्भ भएको पनि उनले जानकारी गराए। प्रधानमन्त्री दाहालको सम्बोधन जारी रहेको छ । यही फागुन २१ गते सत्ता गठबन्धनमा फेरबदल आएको थियो ।रासस