निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी पार्टी अध्यक्ष हुन अयोग्य रहेको बताएको छ । निर्वाचन आयोगल पार्टी अध्यक्षको रुपमा अद्यावधिक गर्न दिएको निवेदनमाथि बिहीबार आयोगले निर्णय गर्दै चौधरी ऐन, नियमावली र पार्टीकै विधान अनुसार पनि अध्यक्ष बन्न अयोग्य रहेको उल्लेख गरेको हो।
आयोगले अदालतका फैसला, पार्टीकै विधान र अन्य कानुन र नजिरहरू समेतको आधारमा उक्त निर्णय गरेको हो । आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार कानुन बमोजिम अद्यावधिक गर्न नमिल्ने देखिएको बताए । व्यक्ति हत्या अभियोगमा चौधरी सर्वोच्च अदालतबाट जन्मकैदको सजाय पाएका दोषी हुन् । उनलाई पुष्पकमल दाहाल नेतृत्वको सरकारले सजाय माफी सिफारिस गरेको थियो ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट माफी पाएका थिए । २०८० जेठ २ मा सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा चौधरीलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । त्यसको दुई साता नबित्दै गणतन्त्र दिवसका दिन राष्ट्रपतिले उनलाई सजाय माफी गरेका थिए ।