महेन्द्र शाही
सोलुखुम्बु, जेठ २२
जिल्लाको खुम्बु क्षेत्रका लागि चालू आर्थिक वर्षमा छुट्याएको चामल ढुवानी सकिएको छ । चालू आर्थिक वर्षमा खुम्बु क्षेत्रका लागि एक हजार पाँच सय चामलको कोटा निर्धारण गरिएअनुसार ढुवानी सकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सल्लेरीका प्रमुख शम्भुप्रसाद रेग्मीले जानकारी दिए । चालू आर्थिक वर्षमा समयमै टेण्डर गरिएको र समयमै ढुवानी सुरु गरिएकाले समयमै ढुवानी सम्पन्न भएको रेग्मीको भनाइ छ ।
खुम्बुका लागि अघिल्लो आर्थिक वर्षमा पनि एक हजार पाँच सय कोटा छुट्याइएको भए पनि न्यून मात्रामा मात्र ढुवानी भएको थियो । अघिल्लो आर्थिक वर्षमा नौ सय ७५ क्वीन्टल मात्र चामल ढुवानी भएको थियो । अघिल्लो आर्थिक वर्षमा टेण्डर नै ढिलो भएकाले ढुवानीमा गर्नमा समस्या भएको बताइएको छ । चालू आर्थिक वर्षमा भने लक्ष्यमा पुग्न सकिएको रेग्मीको भनाइ छ । थप गर्ने कि भन्ने विषयमा कुरा गरिएको भए पनि लकडाउनले कोटा थप नहुने उनको भनाइ छ ।
त्यस्तै जिल्लाको सोताङ गाउँपालिकामा रहेको डिपोमा पनि लक्ष्यअनुसार बिक्री भइरहेको उनको भनाइ छ । सोताङ डिपोका लागि छुट्याइएको पाँच सय क्वीन्टलमध्ये चार सय क्वीन्टल बिक्री भइसकेको उनले बताए । बाँकी रहेको एक सय क्वीन्टल पनि बाँकी समयमा बिक्री भइसक्ने बताइएको छ । यता सल्लेरीबाट भने चामल बिक्री न्यून मात्र रहेको बताइएको छ । शाखाबाट लकडाउनको समयमा मात्र दुई सय ३३ बिक्री भए पनि अरु समयमा बिक्री निकै कम हुने गरेको बताइएको छ । अहिले सल्लेरी डिपोमा ८७ क्वीन्टल चामल मौजात रहेको कार्यालयले जनाएको छ । जुन वर्षा यामका लागि राखिएको बताइएको छ ।