काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको कुल चुक्ता पुँजी चार खर्ब ३६ अर्ब रूपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनी गरी कुल ५४ वटा संस्थाको चुक्ता पुँजी चार खर्ब ३६ अर्ब दुई करोड ४० लाख रूपैयाँ कायम भएको छ ।
बैंक तथा वित्तीय संस्थाको यो चुक्ता पुँजी गत आर्थिक वर्षकोे पुस मसान्तको तुलनामा १२ अर्ब २६ करोड ६० लाख रूपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी चार खर्ब २३ अर्ब ७५ करोड ८० लाख रूपैयाँ थियो ।
यसवर्ष पुस मसान्तसम्म वाणिज्य बैंकहरूको चुक्ता पुँजी तीन खर्ब ७८ अर्ब ६४ करोड १० लाख रूपैयाँ कायम छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आठ अर्ब ९१ करोड ७० लाख रूपैयाँ बढी हो । गतवर्ष पुस मसान्तमा वाणिज्य बैंकहरूको चुक्ता पुँजी तीन खर्ब ६९ अर्ब ९७ करोड ४० लाख रूपैयाँ थियो ।
राष्ट्र बैंकका अनुसार विकास बैंकहरूको चुक्ता पुँजी गतपुसमा ४२ अर्ब १६ करोड ६० लाख रूपैयाँ छ । जुन गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा दुई अर्ब ९९ करोड रूपैयाँले बढी हो । गतवर्ष पुस मसान्तमा विकास बैंकहरूको चुक्ता पुँजी ३९ अर्ब १७ करोड ६० लाख रूपैयाँ थियो । यसैगरी फाइनान्स कम्पनीहरूको कुल चुक्ता पुँजी १५ अर्ब २१ करोड ६० लाख रूपैयाँ छ । जुन गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा ३५ करोड ८० लाख रूपैयाँले बढी हो । गत आर्थिक वर्ष पुसमा फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी १४ अर्ब ८५ करोड ८० लाख रूपैयाँ थियो ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सञ्चालनमा ल्याएका एटीएम काउन्टरको कुल संख्या पाँच हजार ६४ छ । यो संख्या गतवर्षको सोही अवधिको तुलनामा चार सय १७ वटाले बढी हो । गतवर्ष पुसमा बैंक तथा वित्तीय संस्थाको कुल एटीएम संख्या चार हजार छ सय ४८ थियो ।
गत पुस मसान्तसम्म वाणिज्य बैंकहरूको एटीएम काउन्टर संख्या चार हजार छ सय ७३ वटा, विकास बैंकहरूको तीन सय ४७ वटा र फाइनान्स कम्पनीहरूको ४४ वटा एटीएम काउन्टर सञ्चालनमा छन् । गतवर्ष पुस मसान्तमा वाणिज्य बैंकहरूको चार हजार दुई सय ७४, विकास बैंकहरूको तीन सय ३० र फाइनान्स कम्पनीहरूको ४४ वटा एटीएम काउन्टरहरू सञ्चालनमा थिए ।
बैंकको ऋण नतिर्नेलाई सरकारले नियन्त्रणमा लिने
काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्न अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिएका छन् ।
बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा शुभेच्छुकहरूसँगको भेटवार्तामा मन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिनँ भन्ने र तिर्न हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाइका साथ नियन्त्रण गर्ने बताएका हुन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकको ऋण नतिर्न भड्काउँदै हिँड्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न सम्बद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएको जानकारी उनले दिए ।
‘बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्दिनँ भन्ने र तिर्न हुन्न भनेर अभियान चलाउने प्रवृत्तिलाई अब धेरै दिन छुट दिन सकिँदैन’, पुनले भने, ‘त्यो प्रवृत्तिलाई प्रोत्साहित गर्ने काम कसैले पनि गर्नु हुँदैन ।’ निजी क्षेत्रको मनोबल घटाउने प्रवृत्तिले अर्थतन्त्र र मुलुकको समग्र समृद्धिको यात्रालाई अवरुद्ध पार्ने भएकाले सरकारले लगानीकर्ताको मनोबन गिर्न नदिने प्रतिबद्धता जनाएका छन् । मुलुकमा लगानीको वातावरण र लगानी सुरक्षाको ग्यारेन्टी गर्न सकिए मात्र बाह्य लगानी आकर्षित गर्न सकिनेमा सरकार स्पष्ट रहेको पुनले उल्लेख गरे । ‘सरकारले लगानीको वातावरण बनाउँछ र सुरक्षाको प्रत्याभूति दिलाउँछ’, पुनले भने, ‘निजी क्षेत्र आत्तिने र डराउने वातावरणको अन्त्य सरकारले गर्छ ।’ सरकारले नागरिकको व्यक्तिगत, पारिवारिक र सम्पत्तिको सुरक्षा दिने प्रतिबद्धता पनि अर्थमन्त्री पुनले जनाए ।
मन्त्री पुनले गल्ती नगरी काम गर्ने उद्यमी व्यवसायीलाई अनावश्यक दुःख नदिन नियामक निकायलाई निर्देशन समेत दिएका छन् । फरक प्रसङ्गमा उनले सत्तारुढ गठबन्धनमा भएको परिवर्तनका कारण पूर्वनिर्धारित लगानी सम्मेलन प्रभावित नहुने स्पष्ट पारेका छन् ।
भेटमा अध्यक्ष केसीसहित संघका प्रतिनिधिले बैंकिङ क्षेत्रको सुरक्षामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका थिए । ऋण उठाउन गएका बैंकका कर्मचारीमाथि अपमानजनक व्यवहारका साथै भौतिक आक्रमणका घटना बढेकोमा गम्भीर हुन मन्त्री पुनसँग बैंकर्सले आग्रह गरेका थिए ।