काठमाडौं । सञ्चालन एवं व्यवस्थापन पक्ष कमजोर भयो भने यसको नकारात्मक असर उक्त बैंकको वित्तीय अवस्थामा पर्छ । उक्त बैंकको निक्षेप तथा कर्जा प्रवाहमा सामान्य सुधार देखिए पनि बैंकका अन्य परिसूचकहरू नकारात्मक हुन पुग्छ । यसको पछिल्लो उदाहरण बनेको छ, कुमारी बैंक लिमिटेड ।
कुमारी बैंक, आधा दर्जन बैंक तथा वित्तीय संस्थाहरू गाभिएर बनेको बैंक हो । यो बैंकले आजको दिनसम्म काष्ठमण्डप डेभलपमेन्ट बैंक, पश्चिमाञ्चल फाइनान्स, महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक र देवः विकास बैंकलाई प्राप्ति गरेको छ । यस्तै पछिल्लो समय नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी)लाई मर्ज गरी आपूmमा गाभेको छ । यसरी क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी आधा दर्जन बैंक तथा वित्तीय संस्थाहरूलाई आपूmमा गाभे पनि कुमारी बैंक लिमिटेडको अवस्था भने खस्किँदै गएको छ । कर्मचारीस्रोतका अनुसार सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप जबरा र व्यवस्थापकीय प्रमुख रामचन्द्र खनालले प्राप्ति तथा मर्जरमार्फत जोडिएर आएका कर्मचारीहरूलाई गर्ने फरक व्यवहारका कारण पनि पछिल्लो समय बैंकको वित्तीय अवस्था खस्किएको हो ।
बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार पनि बैंकको वित्तीय अवस्था खस्किएको प्रस्ट देखिन्छ । हाल चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार तीन सय ४० रूपैयाँ रहेको बैंकको गत आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब एक करोड २० लाख ७० हजार नौ सय ४६ रूपैयाँ खुद मुनाफा कमाएको थियो । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको यस्तो नाफा घटेर ८६ करोड ७२ लाख ११ हजार चार सय ७९ रूपैयाँ मात्र छ ।
खुद मुनाफा घट्दा बैंकको वित्तरणयोग्य नाफा एक अर्ब ३३ करोड ३७ लाख ८७ हजार चार सय १५ रूपैयाँले ऋणात्मक देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा ३२ करोड ८१ लाख ३१ हजार एक सय १८ रूपैयाँले मात्र ऋणात्मक थियो । नाफा घटेसँगै बैंकमा खराब कर्जा पनि उल्लेख्य बढेको छ ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकमा खराब कर्जाको अनुपात चार दशमलव ९७ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा भने बैंकमा तीन दशमलव १५ प्रतिशत मात्र खराब कर्जा देखिएको थियो । यसैगरी गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ८९ दशमलव ५८ प्रतिशत रहेको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा घटेर ८५ दशमलव १९ प्रतिशत कायम भएको छ ।
बैंकको यी वित्तीय परिसूचकहरू घटेको देखिए पनि बैंकको निक्षेप तथा कर्जा, कुल सम्पत्ति दायित्व, खुद ब्याज आम्दानी भने सामान्यरूपमा बढेको देखिएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा तीन खर्ब १८ अर्ब ७६ करोड ६७ लाख २२ हजार चार सय २० रूपैयाँ निक्षेप संकलन गरी दुई खर्ब ७५ अर्ब ४३ करोड ८७ लाख १० हजार तीन सय १८ रूपैयाँ कर्जा प्रवाह गरेको बैंकले गत आर्थिक वर्षको सोही अवधिमा तीन खर्ब १६ अर्ब चार करोड ७० लाख ५४ हजार पाँच सय २७ रूपैयाँ निक्षेप संकलन गरी दुई खर्ब ७० अर्ब ९३ करोड ७३ लाख आठ हजार तीन सय नौ रूपैयाँ कर्जा प्रवाह गरेको थियो ।
यसवर्षको पुस मसान्तसम्म पाँच अर्ब ७२ करोड ५३ लाख ९९ हजार पाँच सय ६२ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको कुल सम्पत्ति दायित्व तीन खर्ब ९५ अर्ब ७९ करोड ८५ लाख ४१ हजार एक सय ६० रूपैयाँ छ । गतवर्ष सोही अवधिमा चार अर्ब २४ करोड छ लाख ४४ हजार तीन सय ४४ रूपैयाँ खुद ब्याज आम्दानी र तीन खर्ब ८० अर्ब ५२ करोड ४७ लाख ८६ हजार छ सय ४३ रूपैयाँ कुल सम्पत्ति दायित्व थियो ।