काठमाडौं । नेपालमा आउने भारतीय नागरिकहरूले फोन पेमार्फत क्यु आर भुक्तानी गर्न पाउने भएका छन् । भारतको युपीआई प्रयोग गरिरहेका भारतीयहरूले नेपालको फोन पेको क्युआरमार्फत भुक्तानी गर्न पाउने भएका हुन् ।
भारतको पेमेन्ट्स कर्पोरेन अफ इन्डिया (यूपीसीआई) अन्तर्गतको अन्तर्राष्ट्रिय भुक्तानी सेवा दिने कम्पनी एनआईपीएल र नेपालको फोनपे पेमेन्ट सर्भिस लिमिटेडले शुक्रबार युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत नेपाल–भारत क्रसबोर्डर कारोबार सुरू भएको जानकारी दिएका छन् ।
भारतको मुम्बईमा गत सेप्टेम्बरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा यूपीआईमार्फत क्रसबोर्डर भुक्तानीमा सहकार्य गर्न एनआईपीएल र फोन पेबीच सहमति भएको थियो । सोही सहमतिअन्तर्गत भारतीय पर्यटक तथा आगन्तुकले नेपालमा क्युआर कोडमा आधारित पर्सन–टु–मर्चेन्ट (पीटूएम) भुक्तानी सञ्चालनमा ल्याइएको हो । यसको अर्थ युपीआई प्रयोगकर्ता भारतीयले नेपालका पसल, होटल, रेष्टुराँलगायत फोन पेमा आबद्ध व्यवसायीलाई क्युआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्ने भएका छन् । तर, नेपालीले भने यस्तै सुविधा अहिल्यै भारतमा पाउने छैनन् । यो परिघटना दुई मुलुकबीचको क्रसबोर्डर कारोबारमा क्रान्तिकारीरूपान्तरण भएको दुई कम्पनीले संयुक्त विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।
नेपालको फोन पेसँगको सहकार्यमा क्रसबोर्डर भुक्तानी सुरू हुँदा त्यसले दुई मुलुकबीचको व्यापार तथा सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने एनआईपीएलका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले जानकारी दिए । क्रस बोर्डर कारोबारका कारण दुई मुलुकबीचको आर्थिक सम्बन्ध, व्यापार तथा पर्यटनलाई उल्लेखनीयरूपमा बढाउने फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले बताए ।