काठमाडौं । नेपाल मेडिकल कलेज २८ औँ वर्षमा प्रवेश गरेको छ । कलेजले स्थापनाको २८ औँ वर्षमा प्रवेश गरेको अवसरमा झण्डोत्तलन सँगै वार्डमा उपचाररत बिरामीहरूलाई फलफूल समेत वितरण गरेको छ ।
कलेज प्रशासनले बिरामी भएर अस्पतालको विभिन्न वार्डहरूमा उपचाररत करिब डेढ सय बिरामीलाई फलफूल वितरण गरेको हो । यस्तै, सञ्चालकहरूले कलेजको शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका क्षेत्रमा नवीनतम् कार्यहरू गर्ने बताएका छन् । उनीहरूले अब विशिष्टीकृत सेवा सञ्चालनतर्फ जोड दिने बताए । कलेज परिसरमा शुक्रबार आयोजित कार्यक्रममा कलेजका अध्यक्ष डा भोला रिजाल, प्रबन्ध निर्देशक प्राडा जैनुद्धिन अन्सारी, प्रिन्सिपल प्राडा प्रमोद कुमार क्षेत्री, डाइरेक्टर डासाविहा यासमिन, अस्पताल निर्देशकद्वय डा. राजेशकिशोर श्रेष्ठ, प्राडा मोदनाथ मरहट्ठा, बोर्ड अफ डाइरेक्टरहरू डा आनन्दप्रसाद श्रेष्ठ, शाहनवाज अन्सारीलगायतले झण्डोत्तोलन कार्यक्रममा सहभागी भए ।
कलेजले चाँडै अंकोलोजी, कार्डियोलोजी सेवाहरू थप गर्ने, नयाँ एमआरआई भित्र्याउने तयारी गरेको कलेजकी डाइरेक्टर डा.साविहा यासमिनले बताइन् । कलेजमा सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष, गोकर्णेश्वर नगरपालिकाका सेवाहरू समेत सञ्चालन गरिएकाले पछिल्लो समय सेवाग्राहीहरूको विश्वास बढ्दो रहेको प्रबन्ध निर्देशक प्राडा जैनुद्धिन अन्सारीको भनाइ छ ।