धुलिखेल (काभ्रेपलाञ्चोक) । मण्डनदेउपुर नगरपालिकाको सातौँ स्थापना दिवस तथा नवनिर्मित प्रशासकीय भवनको आइतबार उद्घाटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले जनचाहनाअनुरुप सुशासन, सेवा र सुविधा सरल, सहज एवं प्रभावकारी तवरले दिन सकिएमा मात्र संविधान र लोकतन्त्रले परिकल्पना गरेको लक्ष्य पूरा हुने बताएका छन् ।
उनले संविधानको भावना तथा सङ्घीयताको मर्मअनुरुप हुनेगरी राज्यबाट प्रवाह हुने सेवा तथा विकास निर्माणसम्बन्धी कामलाई नतिजामुखी र नागरिकले अनुभूत गर्न सक्नेगरी सम्पादन गर्न र सुशासन प्रत्याभूत गर्न स्थानीय निकाय दत्तचित्त हुनुपर्नेमा जोड दिदै विकास, पूर्वाधार, कृषि, शिक्षा, सडक, खानेपानी, बिजुलीसहित जनताका आधारभूत आवश्यकता पूरा गर्नुपर्ने बताए ।
उनले तीनै तहको सरकारको समन्वयकारी भूमिका अपेक्षित भए पनि स्थानीय सरकारको विशेष भूमिका र जिम्मेवारी हुने विश्वास व्यक्त गरे । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दा स्वीजरल्याण्डको जस्तो ‘स्वशासन’ र गान्धीले कल्पना गरेजस्तो ‘स्वराज’ को सोच अगाडि राखेर नयाँ राज्य संरचना तर्जुमा गरेका हौँ भने ।
राज्यको पुनःसंरचनाका क्रममा स्थानीय तहको गठन भई सङ्घीयता कार्यान्वयन भएको योे अवधिसम्म पनि देशका कतिपय स्थानीय तहमा भौतिक पूर्वाधार तयार हुन नसकेका बेला यस नगरपालिकाले आवश्यक जग्गाको व्यवस्थापन गरी जनतालाई दिने सेवासुविधालाई सहज एवं प्रभावकारी बनाउन आवश्यक सुविधा सम्पन्न प्रशासकीय भवन बनाएकामा उनले नगरपालिकाको सराहना गरे ।
उनले यस नगरपालिकाले शैक्षिक गुणस्तर सुधार कार्यक्रम, स्मार्ट कक्षा सञ्चालन, सबै विद्यालयमा आफ्नै इन्टरनेट सेवा पुर्याइ शिक्षा क्षेत्रमा गरेको प्रगति प्रशंसनीय रहेको बताए । भवन उद्घाटनपछि राष्ट्रपति पौडेलले नवनिर्मित भवनको अवलोकन गर ।