काठमाडौं । माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) पाँच प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेकोे चालू आर्थिक वर्षको सात महिनाको तथ्यांकअनुसार माघ महिनामा मूल्यवृद्धि पुसमा भन्दा घटेर पाँच दशमलव शून्य एक प्रतिशत कायम भएको छ । वार्षिक उपभोक्ता मूल्यवृद्धि घटे पनि दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि अझै उच्च छ । खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि छ दशमलव ५१ प्रतिशत र गैरखाद्य समूहको तीन दशमलव ८५ प्रतिशत छ ।
तथ्यांकअनुसार मरमसलाको मुद्रास्फीति ३२ दशमलव ११ प्रतिशत, दाल तथा गेडागुडीको ११ दशमलव १५ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १० दशमलव ७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको नौ दशमलव शून्य छ प्रतिशत र तरकारीको सात दशमलव ५८ प्रतिशत छ । घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १२ दशमलव ३३ प्रतिशतले घटेको छ ।
गतवर्ष माघमा उपभोक्ता मुद्रास्फीति सात दशमलव ८८ प्रतिशत थियो । मुद्रास्फीति एक वर्षमा दुई दशमलव ८६ प्रतिशत विन्दुले घटेको छ ।
वस्तु तथा सेवाको मूल्य बढ्नु र पैसाको मूल्य घट्नु मुद्रास्फीति हो । यस अर्थमा मुद्रास्फीति जति बढी हुन्छ, त्यति नै वस्तु तथा सेवाको मूल्य महँगो हुन्छ । राष्ट्र बैंकको तथ्यांकअनुसार पुसमा भन्दा माघमा उपभोक्ता मुद्रास्फीति घटेको छ । आम उपभोक्ताले अझै महसुस गर्न पाएका छैनन् । किनभने उपभोग्य वस्तुको मूल्यवृद्धि अझै उच्च छ ।
केन्द्रीय बैंकका अनुसार काठमाडौं उपत्यकामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि चार दशमलव ९६ प्रतिशत, तराईको चार दशमलव ७१ प्रतिशत, पहाडको पाँच दशमलव ५८ प्रतिशत र हिमालको पाँच दशमलव ४४ प्रतिशत छ । अघिल्लो वर्षको माघ महिनामा यी क्षेत्रहरूको मूल्यवृद्धि क्रमशः आठ दशमलव ४७ प्रतिशत, सात दशमलव ८२ प्रतिशत, सात दशमलव ३० प्रतिशत र साता दशमलव ९२ प्रतिशत थियो ।
माघ महिनामा वार्षिक विन्दुगत थोक मूल्यवृद्धि दुई दशमलव ८२ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति नौ दशमलव ६७ प्रतिशत थियो ।
माघ महिनामा तलब तथा ज्यालादर सूचकांंक पँच दशमलव ५६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकांक १० दशमलव २७ प्रतिशतले बढेको थियो ।
रेमिट्यान्स माघमा घट्यो
वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स चालू आर्थिक वर्षकोे सात महिनामा बढेको छ । सात महिनामा रेमिट्यान्स आप्रवाह २१ दशमलव छ प्रतिशतले बढेर आठ खर्ब ३९ अर्ब पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २७ दशमलव एक प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १९ दशमलव एक प्रतिशतले बढेर छ अर्ब ३१ करोड पुगेको छ ।
गतवर्षको तुलनामा रेमिट्यान्स आप्रवाह बढेको भए पनि मंसिरयता रेमिट्यान्स आप्रवाह घट्दो क्रममा छ । मंसिरमा एक खर्ब ३५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा पुसमा १५ अर्ब घटेर एक खर्ब २० अर्ब र माघमा पुसको तुलनामा १४ अर्ब घटेर एक खर्ब छ अर्ब रुपैयाँ भित्रिएको छ । माघ महिनामा चालू आर्थिक वर्षकै सबैभन्दा कम रेमिट्यान्स भित्रिएको छ ।
विदेशी मुद्रा सञ्चिति १८ खर्ब ४४ अर्ब
विदेशी मुद्रा सञ्चिति करिब २० प्रतिशत बढेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँबराबर रहेको विदेशी विनिमय सञ्चिति १९ दशमलव नौ प्रतिशतले बढेर २०८० माघ मसान्तमा १८ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० माघ मसान्तमा १८ दशमलव छ प्रतिशतले बढेर १३ अर्ब ८९ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० माघ मसान्तमा २० दशमलव सात प्रतिशतले वृद्धि भई १६ खर्ब २३ अर्ब ९२ करोड पुगेको छ । यसैगरी बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० माघ मसान्तमा १४ दशमलव दुई प्रतिशतले वृद्धि भई दुई खर्ब २१ अर्ब दुई करोड रुपैयाँ कायम भएको छ । २०८० माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव छ प्रतिशत छ ।
१४ महिना २१ दिनको आयात धान्ने
चालू आर्थिक वर्षको पछिल्लो सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४ महिना २१ दिनको वस्तु आयात र १२ महिना नौ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
२०८० माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३४ दशमलव तीन प्रतिशत, एक सय दुई दशमलव चार प्रतिशत र २८ प्रतिशत छन् । २०८० असार मसान्तमा यी अनुपातहरू क्रमशः २८ दशमलव छ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत थिए ।
शोधनान्तर स्थिति करिब तीन खर्बले बचतमा
मुलुकको शोधनान्तर स्थिति बचतमा देखिएको छ । माघ मसान्तमा शोधनान्तर स्थिति दुई खर्ब ९७ अर्ब ७२ करोडले बचतमा रहेको हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब २८ अर्ब ५५ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९७ करोड ५७ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब २४ करोडले बचतमा छ ।
मुलुकको चालू खाता पनि एक खर्ब ६१ अर्ब ६९ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ४० अर्ब १६ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोड ४६ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा एक अर्ब २२ करोडले बचतमा छ ।
यस्तै, पुँजीगत ट्रान्सफर २९ प्रतिशतले कमी आई तीन अर्ब ८० करोड रुपैयाँ कायम भएको छ । यसैगरी खुद प्रत्यक्ष वैदेशिक लगानी पाँच अर्ब १८ करोडले धनात्मक छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर पाँच अर्ब ३५ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी एक अर्ब चार करोडले धनात्मक थियो ।