काठमाडौं । सरकारले फेरि २१ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । नेपाल राष्ट्र बैंकले फागुन २७ गते (आइतबार) २१ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरी सरकारका लागि पैसाको जोहो गरिदिएको हो ।
राष्ट्र बैंकका अनुसार आइतबार अपराह्न तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरी आन्तरिक ऋण उठाइएको हो । यसअघि यही फागुन २१ गते पनि राष्ट्र बैंकले १३ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरिएको थियो ।
फागुन २९ गते मंगलबार जारी हुने ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन लिएका थिए । केन्द्रीय बैंकले २८ दिन अवधिको आठ अर्ब रुपैयाँ, ९१ दिन अवधिको आठ अर्ब ५० करोड रुपैयाँ र तीन सय ६४ दिन अवधिको पाँच अर्ब रुपैयाँ बराबरको रहेको थियो । जसमध्ये २८ दिनको २०८० चैत्र २७ गते, ९१ दिनको २०८१ जेठ २९ गते र तीन सय ६४ दिन अवधिको २०८१ फागुन २७ परिपक्व हुनेछ । राष्ट्र बैकका अनुसार बिक्री गरिएका ट्रेजरी बिलहरू सबै पुरानो नवीकरणअन्तर्गतका हुन् ।
यसअघि गत साता पनि राष्ट्र बैंकले ९१ दिन अवधिको छ अर्ब चार करोड ५० लाख र एक सय ८२ दिन अवधिको सात अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरिएको राष्ट्र बैंकको भनाइ छ ।