काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पुँजीगत खर्चमा सुधार गर्नका लागि समयबद्ध तालिका बनाउनुपर्ने बताएका छन् । बजेट चालू खर्चमै सकिने तर पुँजीगत खर्चको सानो अंश पनि खर्च नहँुदा विकास र आर्थिक समृद्धि हासिल हुन नसकेको उनले बताए ।
‘चालू आर्थिक वर्षको आठ महिनामा पुँजीगत खर्च २५ प्रतिशतमा सीमित छ, सरकारले गर्ने खर्चको कछुवा गतिले आर्थिक गतिविधि अपेक्षितरूपमा बढ्न सकेको छैन’, उनले भने, ‘त्यसैले पुँजीगत खर्च समयमै सम्पन्न गर्नका लागि पूर्वाधार विकास आयोजनामा समयमै सम्पन्न गर्नेगरी समयतालिका निर्धारण गर्न आवश्यक छ ।’ सरकारले पुँजीगत खर्च समयमै गर्न नसक्दा अर्थतन्त्रका अन्य क्षेत्रमा पनि गम्भीर असर परेको उनले बताए । नेपाल तयारी पोसाक संघको वार्षिक साधारणसभामा बोल्दै उनले सरकारले आगामी आर्थिक वर्षमा खर्च क्षमताअनुसारको विकास आयोजना छनोट गर्नुपर्नेमा जोड दिए । आगामी बजेट रोजगारी सिर्जना, उत्पादन वृद्धिमार्फत निर्यात प्रवर्द्धन एवम् औद्योगिक क्षमता विस्तार गर्ने खालको ल्याउनुपर्ने उनको भनाइ थियो ।
आयातलाई व्यवस्थित गरी निर्यातलाई प्रवर्द्धन गर्नका लागि स्थानीय उत्पादन वृद्धि हुने क्षेत्रमा बजेटलाई विनियोजन गर्नुपर्ने उनले बताए । बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय गर्नुपर्ने भन्दै अध्यक्ष मल्लले बजेट र मौद्रिक नीतिको लक्ष्य एकै हुनुपर्ने उनको भनाइ थियो । अर्को प्रसंगमा अध्यक्ष मल्लले मुलुकको अर्थतन्त्र अझै पनि सुस्त गतिमै रहेको बताए ।