पाटन (ललितपुर) । कुसुन्तीको चक्रपथमा लिफ्टसहितको अपाङ्गतामैत्री आकाशे पुल महानगर प्रमुख चिरीबाबु महर्जनले सोमबार विशेष पूजासहित शिलान्यास गरेका छुन् । ललितपुर महानगरको वडा नं १३ एकान्तकुना यातायात कार्यालयबाट सातदोबाटोतर्फ करिब पाँच मिटरको दूरीमा बन्न लागेको यो आकाशे पुलमा सडकको दुवैतर्फ लिफ्ट हुनेछ । एक वर्षभित्र निर्माण सम्पन्न हुने उक्त अपाङ्गमैत्री आकाशे पुल ललितपुर महानगरपालिकाको चार करोड ६८ लाख नौ हजार पाँच सय ६१ को लागतमा निर्माण सम्पन्न हुनेछ ।
निर्माण व्यवसायी लामा÷ प्रगति ÷मणि ÷बुद्ध जेभीले आकाशे पुल निर्माणका लागि महानगरसँग फागुन २० गते सम्झौता गरी २१ गतेदेखि १२ महिनाभित्र काम सम्पन्न गर्नेगरी ठेक्कामा लिएको महानगरका वरिष्ठ डिभीजनल इञ्जिनीयर प्रदीप पौडेलले जानकारी दिए । यो आयोजनाको परामर्शदाता डिबी मल्टी इञ्जिनियरिङ प्राइभेट लिमिटेड रहेको छ । पुलको पाँच वर्षसम्मको मर्मतसम्भार निर्माण व्यवसायीले नै गर्नु पर्नेछ ।
महानगर प्रमुख महर्जनले शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिकाले नयाँ नौलो काम गर्न रुचाउने बताउँदै यो सम्भवतः नेपालमै पहिलो भएको बताए । उनले कुनै पनि आयोजना समयमा सम्पन्न नहुने गरेका कारण नेपालमा ठेकेदारप्रति नकारात्मक धारणा रहेको भन्दै यहाँ त्यस्तो नहोस् भने ।
प्रमुख महर्जनले आयोजना निर्माणका क्रममा गुणस्तरमा कुनै हालतमा पनि सम्झौता हुनुहुँदैन भन्दै यसका लागि निर्माण कम्पनी, परामर्शदाता र यसमा संलग्न इञ्जिनीयरले ध्यान दिने विश्वास व्यक्त गरे । उनले निर्माणका क्रममा आइपर्ने समस्या समाधान गर्न स्थानीयको सहयोग अपरिहार्य छ भने । ललितपुर खण्डमा पर्ने चक्रपथको सात दशमलव नौ किमी सडकमा स्मार्ट स्याटेलाइट जडानका लागि ठेक्का आह्वान भई छनोटको चरणमा रहेको बताउँदै महानगर प्रमुख महर्जनले एक वर्षभित्र जडान सम्मान हुने बताए ।
वडा नं १३ का अध्यक्ष गणेश केसीले चार वर्षको प्रयासपछि यो पुल निर्माणका लागि सडक विभागबाट भदौ ११ गते स्वीकृत पाएको बताउँदै यो क्षेत्रमा हुने सडक दुर्घटनाको जोखिम रोक्न लगातार काम गरेर समयअगावै सम्पन्न गर्न आग्रह गरे ।
निर्माण व्यवसायी लामा प्रगति–मणि बुद्ध जेभी सञ्चालक चन्द्रबहादुर लामाले निर्माण व्यवसायीले चाहेरभन्दा पनि स्थानीयको समन्वय र सहकार्यका कारण निर्माण सम्पन्न छिटो हुने बताए । उनले परामर्शदाताकोतर्फबाट कुनै परिवर्तन भएन र स्थानीयकोतर्फबाट कुनै बाधा अवरोध भएन भने समयभित्रै काम सम्पन्न हुन्छ भन्ने प्रतिबद्धता व्यक्त गरे । महानगरले बजेटको अभाव नहुने गरी सम्झौताअनुसारको रकम समयमा नै उपलब्ध गरायो भने गुणस्तरमा सम्झौता नगरी निर्माण सम्पन्न गरेर आयोजना हस्तान्तरण गर्ने उनले बताए ।
(((