काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा दशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना हुने भएको छ । वीरगञ्ज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभामा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले १० अर्ब रुपैयाँ अधिकृत पुँजी रहने कम्पनी स्थापना गर्न लागेको जानकारी दिएका हुन् ।
सो कम्पनीमा देशैभरका सर्वसाधारण एवम् व्यवसायीले लगानी गर्न सक्ने उनले बताए । उक्त रकम विभिन्न परियोजनामा लगानी गरिने उनले जानकारी दिए । कार्यक्रममा अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्रको सुधारका लागि पहल गरिरहेको पनि बताए । राजनीतिक दलहरूको आर्थिक विषयमा एकै एजेन्डा हुन नसक्दा समन्वय र सुधार नभएको बताउँदै उनले महासंघको चैत्र अन्तिम साता आयोजना हुने वार्षिक साधारणसभामा सबै दलहरूको ऐक्यबद्धता खोजिने जानकारी दिए । महासंघले सुधारका लागि निरन्तर प्रयास गरिरहेको र गत असोजमा आयोजित बृहद् आर्थिक बहस यसको कोशेढुङ्गा भएको उनको भनाइ थियो । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वपक्षीय भेला आयोजना गरेको स्मरण गराउँदै अध्यक्ष ढकालले त्यसपछि वित्तिय क्षेत्रमा सुधार भएको बताए ।