विराटनगर, जेठ २२
काठमाडौंस्थित एक होटलबाट जुवा खेलेको आरोपमा पक्राउ गरिएका व्यवसायी अशोककुमार अग्रवाल र अर्थ मन्त्रालयका बीचमा ठूलै निकटता भएको पाइएको छ ।अर्थमन्त्री युवराज खतिवडाले गत जेठ १५ गते बजेट प्रस्तुत गर्नुभन्दा दुई दिन अगाडि विशाल ग्रुपको पारा माउन्ट मोटर्स प्रालिका नाममा वीरगञ्ज भन्सार कार्यालयबाट एक सय ४४ थान भीजी अटोमोवायलको इलेक्ट्रोनिक्स गाडी नेपाल प्रवेश गरेका थिए । सो प्रकरणमा विशाल ग्रुपका निर्देशकसमेत रहेका अशोककुमार अग्रवाल विवादमा तानिएका छन् । पछिल्लो समय जुवा प्रकरणमा फेरि अग्रवाल पक्राउसँगै थप रहस्यहरू खुल्न थालेका छन् ।
काठमाडौँको कमलादीमा रहेको गंगोर बुटिक होटलबाट व्यवसायी अग्रवाल पक्राउ परेका हुन् । उनी र उनका सहोदर भाई अनुज अग्रवालको सेटिङअनुसार नै अर्थमन्त्री युवराज खतिवडाले बजेटमार्फत इलेक्ट्रोनिक्स भेहिकलमा १० प्रतिशतको भन्सार दरबन्दी परिवर्तन गरी ८० प्रतिशत कायम गरेको सुनसरी मोरङ औद्योगिक करिडोरको उद्योगी व्यवसायीको भनाइ छ । अर्थ मन्त्रालयको सेटिङमै व्यवसायी अग्रवाल दाजुभाइले बजेट आउनु दुई दिनअगाडि एक सय ४४ थान इलेक्ट्रिक गाडी नेपाल भित्र्याएका थिए । अर्थ मन्त्रालयको सेटिङमा भएको यस्तो कामबाट ५० करोड राजस्व गुमेको बताइन्छ ।
विराटनगर भन्सारबाट गाडी भित्र्याउनमा विशाल ग्रुपका सञ्चालक तुलसीराम अग्रवाल र जगदीश अग्रवाल मुख्य भूमिकामा रहेका छन् । नेपालमा भारत तथा तेस्रो मुलुकबाट आयात हुने महंगा मदिरादेखी नयाँ गाडी समेतको आयात अनुमति पाएको विशाल ग्रुपले पछिल्लो समय अर्थ मन्त्रालयमा आफ्नो नेटवर्कको सञ्जाल विस्तार गरेको पाइएको छ । त्यसैको परिणाम स्वरूप विशाल ग्रुपले नै आयात गर्दै आएको क्याटभरी र चकलेटहरू विगतमा ४० प्रतिशत भन्सार महसुल लिँदै आएकोमा यस पटकको बजेटमार्फत भन्सार महसुल परिवर्तन गरी १० प्रतिशतमा झारिएको छ ।