पर्वत । नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले तीनै तहका सरकारलाई आवश्यक पर्ने कानुन निर्माण गर्न सङ्घीय सरकारले ढिला नगर्ने बताएका छन् । मंगलबार गृह जिल्ला पर्वतमा मन्त्री गिरीले आवश्यक कानुन निर्माणमा मन्त्रालय जुटेको बताए ।
“अहिले पनि कतिपय महत्वपूर्ण ऐन, कानून र नीतिको अभावमा सङ्घीय, प्रदेश र स्थानीय सरकारले काम गर्न नपाइरहेको गुनासो छ । सो समस्या समाधानका लागि छिटोभन्दा छिटो आवश्यक ऐन निर्माणका लागि गृहकार्य भइरहेको छ”, उनले भने ।
मन्त्री गिरीले कतिपय नीति तथा कानून अहिलेको परिस्थिति प्रतिकुल रहेको भन्दै मुलुक र आम नागरिकका लागि आवश्यक नीति तथा कानून निर्माण जरुरी रहेकोमा जोड दिए । उनले आवश्यक ऐन तथा कानून निर्माणको जिम्मेवारी र दायित्व आफ्नो काँधमा आएको भन्दै सबै मन्त्रालय र सरोकारवालासँगको समन्वयमा अघि बढ्ने समेत उल्लेख गरे ।
मन्त्री गिरीले मुलुक चरम आर्थिक सङ्कटमा रहेका बेला यसको सुधारका लागि उचित कानून निर्माण अहिलेको आवश्यकता भएको बताए । मन्त्री गिरीले मुलुक अप्ठ्यारो अवस्थामा रहेका बेला सरकार परिणाममुखि काम गर्नेगरी अघि बढेको भन्दै वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्नका लागि गम्भीर रहेको बताए ।
उनले सत्य निरुपण तथा मेलमिलाप, सङघीय निजामित ऐन र शिक्षा ऐन तत्काल सदनबाट पास गरेर देशलाई निकास दिने उल्लेख गर्दै वर्तमान सत्तागठबन्धन आगामी चार वर्ष नै टिक्ने जिकिर गरे । उनले न्याय क्षेत्रमा रहेका विकृति बिसङ्गतीको पनि अन्त्य गरिने दाबी गरे ।