काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपालमा सम्भावित नयाँ आयोजनामा लगानीका लागि थप लगानी गर्न तयार रहेको जनाएको छ । एडीबीको नेपालका लागि देशीय निर्देशक आर्नो कोशवाले अर्थमन्त्री वर्षमान पुनसँग मंगलबार भेटगरी उक्त जानकारी दिएका हुन् ।
अर्थ मन्त्रालयमा भएको भेटमा द्विपक्षीय साझेदारी मजबुत बनाउने र सम्भावित आयोजनामा लगानीका लागि थप सहकार्य गर्ने विषयमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ । भेटका क्रममा निर्देशक कोशवाले एडीबीको लगानीमा निर्माण भएर पहिरोका कारण क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको सुरुङको पुनः डिजाइनको काम अन्तिम चरणमा रहेको जानकारी दिएका थिए । विश्व बैंकसँगको वित्तीय साझेदारीमा एडीबीले निर्माण गर्न चाहेको जलाशययुक्त दूधकोशी जलविद्युत् आयोजना र माथिल्लो अरुण जलविद्युत् आयोजनाको काम चाँडै सुरु हुने विश्वास पनि उनले दिएका थिए ।
जवाफमा अर्थमन्त्री पुनले प्रमुख विकास साझेदार एडीबीले नेपालका महत्वपूर्ण विकास आयोजनामा गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत समझदारीपूर्ण सहकार्य हुने बताएका थिए ।
नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंकले एकै आयोजनामा लगानी साझेदारी गर्न गइरहेकोमा पनि अर्थमन्त्री पुनले खुसी व्यक्त गरेका थिए । दूधकोशी जलाशययुक्त र माथिल्लो अरुण नदी प्रवाहमा आधारित ठूला आयोजनामध्येका हुन् । पुन ऊर्जामन्त्री छँदा ती आयोजना सुरु भएका थिए ।
नेपालमा विकास बजेट कम खर्च हुने समस्या रहेको उल्लेख गर्दै अर्थमन्त्री पुनले त्यसमा सुधार गर्न क्षमता अभिवृद्धि र जनशक्ति विकासमा कार्ययोजना बनाएर काम गर्न लागेको जानकारी दिए ।