काठमाडौं, जेठ २३
सरकारले लकडाउनको मोडालिटी हेरफेर गर्ने गृहकार्य सुरु गरेको छ । लकडाउनबारे छलफल गर्न बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो पार्ने जिम्मा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई सुम्पिएको हो ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो बनाउने गरी आवश्यक खाका दुई दिनभित्र तयार पार्न समितिलाई भनेका छन् । लकडाउनको साढे २ महिना बितिसकेको छ भने व्यवसायीदेखि नागरिक तहमा लकडाउनप्रति आक्रोश बढिरहेको छ ।
सोही कारण सरकारले लकडाउनको मोडालिटी परिवर्तन आवश्यकताको महशुस गरेको हो । बिहीबार उपत्यकामा व्यवसायीहरुले व्यस्त न्युरोडलगायतका स्थानमा लकडाउन अवज्ञा गर्दै पसल खोलेका थिए । लामो समय लकडाउन भएकै कारण सर्वसाधारण समेत आजित भएका छन् ।
बुधबार मात्रै प्रधानमन्त्री ओलीले बालुवाटारमै बोलाएर २५ विज्ञसँग लकडाउनबारे परामर्श लिएका थिए । सो क्रममा विज्ञहरुले आवश्यक स्थानमा लकडाउन कडाइ गर्न र कोरोना संक्रमण कम भएका स्थानमा लकडाउन खुकुलो बनाउन सुझाव दिएका थिए ।
यसैबीच, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रोल्पाको त्रिवेणी गाउँपालिकामा गत वैशाख १८ बम पड्किँदा मृत्यु भएका चार बालबालिकाका परिवारलाई प्रतिपरिवार ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव विष्णु नेपाललाई सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।