दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–६ नं वडा कार्यालय भवनको बिहीबार उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका लागि सबै दलहरू एक ठाउँमा हुनुपर्ने बताएका छन् ।
अध्यक्ष ओलीले स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका मामलामा सबै दल एक ठाउँमा हुनुपर्ने बताए । “सुशासनका लागि भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टलाई कारबाही गर्ने मामलामा सबैले मिलेर काम गर्न जरुरी छ”, उनले भन ।
नवनिर्मित वडा कार्यालय भवनबाट जनताले सहजरूपमा सेवा पाउनुपर्ने बताउँदै अध्यक्ष ओलीले यस वडा कार्यालयबाट यहाँका जनताले सेवा सुविधा र विभिन्न सहयोग प्राप्त गर्नेछन् भन्ने आफूलाई विश्वास भएको बताए ।
कार्यक्रममा दोधारा चाँदनीका जनताका समस्या समाधानका लागि पहल गरिदिन दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर लिम्बूले अध्यक्ष ओलीसँग आग्रह गरे । उनले भने, “दोधारा चाँदनी सुक्खा बन्दरगाह यथाशीघ्र अगाडि बढाइदिन आग्रह गर्छु ।”
अध्यक्ष ओलीले आजै महाकाली नदीमा निर्मित चार लेनको पक्की पुल र दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाहको स्थलगत अवलोकन पनि गरे ।