काठमाडौं । बैंकिङ कसुरमा समातिएका १० जना बैंकर बिहीबार छुटेका छन् । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हाल प्रभु बैंकका डेपुटी सीईओ मनौज न्यौपाने र सेन्चुरीकै पूर्वसीईओ तुलसीराम गौतमसहित १० जना बैंकर हाजिरी जमानीमा छुटेका हुन् । तेस्रोपटक म्याद थप गरी अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) रिहा गरेको हो ।
प्रहरीले पक्राउ परेकाहरुको बयान सकिएपछि हाजिरी जमानीमा रिहा गरेको हो । उनीहरुमाथि राष्ट्र बैंकको टोलीबाट भने अनुसन्धान भइरहेको छ ।
सीआईबीले फागुन १५ गते उनीहरुलाई पक्राउ गरेको थियो । तत्कालीन सेन्चुरी कमर्सियल बैंकले एक अर्ब १४ करोड २३ लाख ८४ हजार दुई सय ५८ रुपैयाँको धितो भ्यालुएसन गरी दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार सात सय ३१ रुपैयाँ ऋण प्रवाह गरेको आरोमा उनीहरुलाई पक्राउ गरेको थियो ।
देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईं बचतकर्ताको रकम हिनामिना गरेको अभियोगमा कात्तिक १७ गतेदेखि थुनामा छन् । सेञ्चुरी बैंकले उनै चौलागाईंका चारवटा संस्थालाई कम भ्यालुयसनमा बढी ऋण उपलब्ध गराएको प्रहरीले आरोप लगाएको छ ।