बैतडी,जेठ २३
बैतडी जिल्लाको डिलाशैनी गाउँपालिकामा कारोनाको माहामारी पीडितहरूका लागि खरिद गरिएको खाद्यान्न सामग्रीमा चरम भष्ट्राचार भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । खाद्यान्न वितरणमा कमिसनको खेल भएको तथ्य बाहिर आएपछि सोही गाउँपलिका– ७ का जयराज जोशीले अख्तियारमा उजुरी दिएका हुन् ।
गाउँपालिकाकै कार्यकारी अधिकृत महेश भट्ट र प्रमुख उपेन्द्रबहादुर बोहोराको मिलेमतोमा खाद्यान्नलगायत अन्य सामग्री खरिद गर्दा घोटाला भएको जोशीले बताए । ५० हजार केजी चामल, चार हजार केजी दाल, चार हजार केजी आयोडिन नुन र दुई हजार लिटर खाने तेलको लागि टेण्डर आह्वान भएको थियो । सो टेण्डर प्रक्रियामा विभिन्न प्रपञ्च रच्दै ४२ सय क्वीन्टल पर्ने चामलको मूल्य ५१ सय पर्ने गरी टेण्डर पास गरेको जोशीको भनाइ छ ।
सबै समग्रीका लागि एकमुस्ट गरिएको टेण्डरमा विभिन्न सप्लायर्सहरूले आवेदनसहित टेण्डर फर्म हालेका भए पनि कम मूल्य कबोल गर्नेसँग सामान खरिद नगरी रातारात पुनः अर्को टेण्डर गरी सामान किन्ने काम गरिएको छ ।
३२ लाख सात हजार कवोल गरेको राज श्री फुड इन्टरसटेज प्रालि कैलालीबाट अध्यक्ष र प्रशासकीय प्रमुखले कमिसन माग गरेपछि कमिसन दिन नसक्दा उक्त टेण्डर रद्द गरेर अर्को टेण्डर आह्वान गरिएको हो ।
आफ्नो नजिक र सहज कमिसन लिन सहज हुने व्यापारिक फर्महरूको समाबेस गरी सोही डेण्डरलाई ३७ लाख पु¥याई खाद्यान्न खरिद गरिएको छ । यो प्रक्रिया सोझै सार्वजनिक खरिद ऐन विपरीत भएको जोशीले बताए । यसरी राहातको खाद्यान्न खरिदमा रातारात अर्को टेण्डर निकालेर सोझै देखिने गरी चार लाख ७० हजार भष्ट्राचार गरिएको जोशीले जानकारी दिए ।
राहातको नाममा वितरण गरिएको खाद्यान्न पनि गुणस्तरहीन रहेको र दाल पनि ३ केजीका दरले मात्र वितरण गरिएको उनले बताए । अर्का स्थानीय बिरेन्द्र धामीले पनि ४२ रूपैयाँको चामल को टेण्डर राता रात रद्द गरी ५५ प्रतिकिलो पर्ने चामल खरिद गरिएको भनिए पनि सो चामल गुणस्तहिन र भुस मात्र भएको बताए । गाउँपालिकाले नै स्थानीय सर्वसाधारणहरूका आँखामा छारो हाल्ने काम गरेको उनको भनाइ छ । यो विषयको जानकारी लिखित रूपमा प्रमुख जिल्ला अधिकारीलाई समेत गराइएको अर्का स्थानीय कर्णबहादुर भण्डारीले बताएका छन् ।