काठमाडौँ । महिला सङ्घद्वारा शुक्रबार आयोजित भेलामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय हित, जनजीविकाका लागि सबै कम्युनिष्टहरु एकीकृत हुनुपर्ने बताएका छन् ।
उनले कम्युनिष्ट विचार बोकेका सबै दल मिलाउने पक्षमा आफ्नो पार्टी रहेको बताउँदै त्यसका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि जनताको आर्थिक तथा सामाजिक रुपान्तरण हुन नसकेको बताउँदै उनले सबै कम्युनिष्टलाई गोलबद्ध गराएर देश बनाउन र जनतालाई गरिबीबाट मुक्त बनाउनुपर्नेमा जोड दिए ।
हामीलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष नचाहिएको भन्दै अध्यक्ष नेपालले देशमा छरिएका सबै कम्युनिष्टलाई मिलाएर बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि आफ्नो पार्टीले जस्तो पनि त्याग गर्न तयार रहेको प्रस्ट पारे ।
अध्यक्ष नेपालले अहिले कम्युनिष्ट एकताका लागि नयाँ चरणको छलफलमा रहेको जानकारी दिदै भने, “हामीसँग कुन ढङ्गको व्यवहार हुन्छ त्यसमा भर पर्छ । हामी छलफल गर्दै जानेछौँ ।”
अध्यक्ष नेपालले पार्टीका नेता तथा कार्यकर्तालाई कम्युनिष्ट आदर्श र सिद्धान्तप्रति इमान्दार भएर पार्टीको सङ्गठन निर्माणमा लाग्न निर्देशन दिए । सरकारको विषयमा प्रदेशदेखि राजनीतिक नियुक्तिको विषयमा पनि छलफल गरी उपयुक्त निर्णय गरिने उनको भनाइ थियो ।