काठमाडौँ,प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वका विभिन्न मुलुकमा गएर नेपालीले उल्लेखनीय प्रगति पनि गरिरहेका बताएका छन्।
आज बिहान काठमाडौँमा आयोजित ‘प्रा सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’ नामक पुस्तक लोकार्पण समारोहमा प्रधानमन्त्रीले सो कुरा बताएका थिए ।
प्रधानमन्त्रीले भने, “विश्वव्यापीकरणसँगै विश्वका विभिन्न मुलुकमा नेपाली जाने गरेका छन् । त्यहाँ गएकामध्ये कैयौँ नेपालीले उल्लेखनीय प्रगति पनि गरेका छन् । त्यसको उदाहरण डा सूर्य सुवेदी हुन।”
प्रधानमन्त्रीले भने, “प्राडा सूर्य सुवेदीले नेपालको संविधान निर्माण, नेपालले विगतमा विश्वका विभिन्न मुलुकहरूसँग गरिएका सन्धि सम्झौताहरूको पुनरावलोकनबारे मैले सहयोग मागेको थिएँ । उनले त्यसमा सहयोग गरे । पछिल्लो एमसिसी सम्झौतामा पनि उनले मध्यमार्गी विकल्प दिए र हामीले नै लागू पनि ग¥यौँ ।”
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार लोकार्पण कार्यक्रममा प्राडा सुवेदीले पुस्तकमा नेपालको लोकतान्त्रिक आन्दोलन, कम्बोडियाको शान्ति प्रक्रिया र अन्तरराष्ट्रिय कानुनका विषयमा चर्चा गरेका थिए ।रासस