काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार पोखरामा पार्टीका अगुवा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको स्पष्ट गरेका छन् ।
“कांग्रेसबाट पटकपटक धोका भयो । कांग्रेसबाट हामीलाई भोट ‘ट्रान्सफर’ हुने पनि देखिएन । सबैजसो निर्वाचनमा धोका भयो । भोलि पनि यस्तै हुने देखियो । एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौँ ।” प्रधानमन्त्रीले भने ।
गण्डकी प्रदेशमा माओवादीले नेतृत्व लिने सम्भावना रहेको उनले बताए । प्रधानमन्त्रीले भने, “गण्डकी प्रदेश सरकारका बारेमा पनि हामी छलफल गर्दैछौँ। प्रदेशमा सरकार गठनका लागि गृहकार्यमै छौँ। त्यो टुङ्ग्याएपछि एउटा निष्कर्षमा पुग्नेछौँ ।”
देशको राजनीति सही बाटोमा आएको बताउँदै प्रधानमन्त्रीले केन्द्रमा नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण र वामपन्थी आन्दोलनको रक्षा नै मुख्य विषय भएको स्पष्ट पारे ।