काठमाडौँ । नागरिक लगानी कोषको ३४औँ वार्षिकोत्सवको अवसरमा अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र केही शिथिल देखिएको भए पनि सङ्कटको अवस्थामा भने नपुगेको बताएका छन् । आइतबार यहाँ आयोजित कार्यक्रममा उनले अर्थतन्त्र सङ्कट बाहिर रहेको दाबी गरे ।
मुलुकको अर्थतन्त्र धराशायी भएको भनेर नकारात्मक प्रचार बढी हुँदा बजारमा त्यसको असर देखिएको भन्दै अर्थमन्त्री पुनले नेपालको बाह्य क्षेत्रमा निकै सुधार देखिएको बताएका छन् । पुनले बाह्य क्षेत्र र खासगरी भुक्तानी सन्तुलन बिग्रिँदा केही समयअघि नेपालको अर्थतन्त्रलाई श्रीलङ्काको जस्तै धराशायी हुन लागेको भनेर आलोचना भइरहेकामा अहिले बाह्य क्षेत्र निकै मजबुद बनेको बताए ।
अर्थतन्त्रका सूचक सकारात्मक भए पनि बजारको मानसिकता अझै सुध्रिन नसकेकामा अर्थमन्त्री पुनले चिन्ता व्यक्त गरे । पुनले सकारात्मक सोच र आत्मविश्वास हुने हो भने लगानी बढ्ने र त्यसले अर्थतन्त्र वृद्धिमा सहयोग पुर्याउने बताए । सरकारले यसअघि अवलम्बन गरेका र पूर्वअर्थमन्त्रीले ल्याएका सकारात्मक नीति तथा योजनालाई आफूले पनि निरन्तरता दिने उनले विश्वास दिलाए ।
सेवा प्रवाहमा सहजताका लागि सबै पक्ष र निकाय जवाफदेही हुनुपर्नेमा मन्त्री पुनले जोड दिए । विगतमा अर्थतन्त्रमा देखिएका सङ्कुचनका कारण लिइएका कडा नीतिलाई बिस्तारै खुकुलो बनाउँदै लगिने धारणा अर्थमन्त्री पुनले राखे । यसबारे विषयगत मन्त्रालय र विभिन्न निकायसँग छलफल भइरहेको उनले जानकारी दिए । पछिल्लो समय धितोपत्र बजारमा सुधारका सङ्केत देखिएको भन्दै यसले बजार चलायमान गर्न सहयोग पुर्याउने उनको भनाइ छ ।
मन्त्री पुनले नागरिक लगानी कोषलाई थप व्यावसायिक बनाउन र कोषमा जम्मा भएको रकमलाई उत्पादनमूलक क्षेत्र, ठूला पूर्वाधार निर्माण र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न निर्देशन दिए । कोषको रकम उत्पादन, उत्पादकत्व र रोजगारीको अवसर सिर्जना गर्ने क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणका लागि काम गर्न सक्नुपर्ने उनको भनाइ छ ।