काठमाडौं । सरकारले चालू आर्थिक वर्षको आठ महिना (साउनदेखि फागुनसम्म)मा दुई खर्ब १८ अर्ब ८६ करोड ६९ लाख रुपैयाँ ऋण लिएको छ । यो अवधिमा एक खर्ब २६ अर्ब तीन करोड ९१ लाख रुपैयाँ ऋणको साँवा भुक्तानी गरेको छ । सरकारले तिर्न बाँकी जम्मा सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड ४३ लाख रुपैयाँ पुगेको छ । गत असारमा सरकारको कुल ऋण २२ खर्ब ९५ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ थियो । यो अवधिमा सार्वजनिक ऋणको आकार ९२ अर्ब ८२ करोड ७४ लाख रुपैयाँले बढेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सार्वजनिक ऋणमा बाह्य ऋणको हिस्सा ५० दशमलव ३६ प्रतिशत अर्थात् १२ खर्ब दुई अर्ब ७३ करोड ७७ लाख रुपैयाँ छ । आन्तरिक ऋण ४९ दशमलव ६४ प्रतिशत अर्थात् ११ खर्ब ८५ अर्ब ५२ करोड ६६ लाख रुपैयाँ छ । यसमध्ये चालू आर्थिक वर्षको आठ महिनामा बाह्य ऋण ५५ अर्ब ५५ करोड ६५ लाख रुपैयाँ उठाएको छ भने आन्तरिक ऋण एक खर्ब ६३ अर्ब ३१ करोड रुपैयाँ उठाएको छ । बाह्य ऋणको तुलनामा आन्तरिक ऋण करिब तीन गुणा बढी उठाएको देखिन्छ ।
नेपालको सार्वजनिक ऋण महिनैपिच्छे बढ्दोक्रममा छ । जसका कारण कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा सार्वजनिक ऋणको हिस्सा पनि बढ्दै गएको छ । जीडीपीको तुलनामा नेपालको सार्वजनिक ऋण करिब ४५ प्रतिशत हाराहारी पुगेको छ ।
सरकारले सबैभन्दा धेरै असोज महिनामा ६० अर्ब ५७ करोड २९ लाख रुपैयाँ ऋण उठाएको छ । त्यसपछि भदौमा ३६ अर्ब ६२ करोड ४१ लाख रुपैयाँ, पुसमा ३३ अर्ब ९५ करोड २५ लाख रुपैयाँ, मंसिरमा २९ अर्ब ९३ करोड ५६ लाख रुपैयाँ, माघमा २४ अर्ब १० करोड ३६ लाख रुपैयाँ, साउनमा १५ अर्ब ७७ करोड ८४ लाख रुपैयाँ, फागुनमा १४ अर्ब ८६ करोड ९७ लाख रुपैयाँ र कात्तिकमा तीन अर्ब दुई करोड ९७ लाख रुपैयाँ ऋण उठाएको छ ।
पछिल्लो समय राजस्व कम उठेपछि सरकारले विकास निर्माणका लागि मात्र नभएर पुरानो ऋण तिर्नका लागि नै ऋण लिइरहेको देखिन्छ । आर्थिक वर्षको सुरुदेखि नै राजस्व संकलन कम भएपछि सरकार आन्तरिक ऋण प्राप्तिमा बढी केन्द्रित भएकोे छ । सरकारले ऋण प्राप्तिपछि उत्पादनशील क्षेत्रमा लगाउनुभन्दा चालू खर्चका लागि नै ऋणको प्रयोग गरेको आशंका अर्थशास्त्रीहरूले गरेका छन् ।
प्रतिव्यक्ति ऋण ८१ हजार आठ सय ८९ रुपैयाँ
कुल सार्वजनिक ऋणलाई २०७८ सालको जनसंख्याअनुसार हिसाब गर्दा प्रतिव्यक्ति ऋण ८१ हजार आठ सय ८९ रुपैयाँ छ । माघमा प्रतिव्यक्ति ऋण हिस्सा ८१ हजार आठ सय ३७ रुपैयाँ थियो ।
सार्वजनिक ऋण प्राप्ति लक्ष्य
सरकारले यस आर्थिक वर्षमा वैदेशिक ऋण दुई खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ जुटाउने लक्ष्य लिएको थियो । यस्तै आन्तरिक ऋणबाट दुई खर्ब ४० अर्ब रुपैयाँ उठाउने लक्ष्य राखेको छ । मध्यावधिक समीक्षाबाट सरकारले बाह्य ऋण एक खर्ब ८० अर्ब ६७ करोड रुपैयाँ प्राप्ति हुने अनुमान गरेको छ । फागुनसम्म आएको ऋणको आकार हेर्दा यस वर्ष बाह्य ऋण प्राप्ति लक्ष्यसम्म पुग्न कठिन हुने देखिन्छ । आन्तरिक ऋण संकलन भने लक्ष्यअनुसार नै हुने सरकारको अनुमान छ ।