काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत पाँच गते अर्थात् आज सोमबार पुन १८ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न तीन बजेसम्म पुरानो ट्रेजरी बिलको नवीकरणमार्फत उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही फागुन २७ गते पनि राष्ट्र बैंकले २१ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
राष्ट्र बैंकका अनुसार जारी मिति चैत छ गते अर्थात् मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन् । बिक्री गरिने उक्त ट्रेजरीहरू क्रमशः २८ दिन अवधिको पाँच अर्ब, एक सय ८२ दिन अवधिको चार अर्ब ३० करोड र तीन सय ६४ दिन अवधिको नौ अर्ब रुपैयाँ बराबरको रहेको छ । जसमध्ये २८ दिन अवधिको ट्रेजरी बिलको परिपक्व हुने अवधि २०८१ वैशाख चार गते, एक सय दिन अवधिको ट्रेजरीको परिपक्व हुने अवधि २०८१ असोज एक गते र तीन सय ६४ दिन अवधिको ट्रेजरी बिलको परिपक्व हुने अवधि २०८१ चैत चार गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार आज बिक्री हुने सबै ट्रेजरी बिलहरू पुरानो नवीकरणअन्तर्गतका रहेका छन् । यसअघि अर्थात् गत साता पनि राष्ट्र बैंकले २८ दिन अवधिको आठ अर्ब, ९१ दिन अवधिको आठ अर्ब ५० करोड र तीन सय ६४ दिन अवधिको पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।