यस आर्थिक वर्षको आठ महिनामा १० खर्ब ३० अर्ब रुपैयाँ बढीको आयात र एक खर्ब रुपैयाँबराबरको निर्यात भएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म १० खर्ब ३० अर्ब २२ करोड २६ लाख ९९ हजार रुपैयाँबराबरको वस्तु तथा सेवा आयात भएको छ भने एक खर्ब ६१ करोड ७४ लाख ४५ हजार रुपैयाँको निर्यात भएको छ । गत आर्थिक वर्षको आठ महिनाको तुलनामा आयात दुई दशमलव ६६ प्रतिशतले घटेको छ । गतवर्ष फागुन मसान्तसम्म १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख ३० हजार रुपैयाँको आयात भएकोे थियो । यस्तै निर्यात तीन दशमलव ९९ प्रतिशतले घटेको छ । गतवर्ष फागुन मसान्तसम्म निर्यात एक खर्ब चार अर्ब ७९ करोड ६१ लाख ९३ हजार रुपैयाँको भएको थियो ।
फागुन मसान्तसम्म व्यापारघाटा नौ खर्ब २९ अर्ब ६० करोड ५२ लाख ५५ हजार रुपैयाँ छ । यो घाटा गत आर्थिक वर्षको फागुन मसान्तको तुलनामा दुई दशमलव ५२ प्रतिशतले कम हो । गतवर्ष आठ महिनामा नौ खर्ब ५३ अर्ब ५८ करोड ९३ लाख ३७ हजार व्यापारघाटा थियो । आयात र निर्यात दुवै घट्नुले बजारमा अझै पनि पर्याप्त माग बढ्न सकेको छैन भन्ने संकेत गर्छ । किनभने नेपालको उपभोग आयातमा निर्भर छ । आयात कम भएपछि सरकारको राजस्व संकलनको लक्ष्यमा पनि धक्का लागेको छ ।
राजस्व दुई खर्ब ७० अर्ब संकलन
सरकारले आठ महिनामा दुई खर्ब ७० अर्ब ७८ करोड ५५ लाख ९१ हजार रुपैयाँ भन्सार राजस्व प्राप्त गरेको छ । गतवर्ष सोही अवधिमा दुई खर्ब ४२ अर्ब ७२ करोड ४४ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । यसवर्ष पनि पेट्रोलियम पदार्थबाट सबैभन्दा धेरै राजस्व उठेको छ । साउनदेखि फागुन मसान्तसम्म पेट्रोलियम पदार्थ आयातबाट सरकारले ७६ अर्ब चार करोड ९३ लाख २८ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ । गतवर्ष यही अवधिमा पेट्रोलियम पदार्थ आयातबाट ७२ अर्ब ७८ करोड ५४ लाख ९१ हजार रुपैयाँ राजस्व प्राप्त गरेको थियो । पेट्रोलियम पदार्थपछि सबैभन्दा धेरै सवारीसाधन आयातबाट ३४ अर्ब ७५ करोड ७८ लाख ६५ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ । गत आर्थिक वर्ष आठ महिनामा २१ अर्ब ५६ करोड छ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । फलाम तथा स्टिल आयातबाट १३ अर्ब ९२ करोड ३३ लाख १७ हजार रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्ष आठ महिनामा फलाम तथा स्टिल आयातबाट १६ अर्ब ४० करोड ७८ लाख ५३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
सबैभन्दा धेरै आयात भएका वस्तु
भन्सार विभागको तथ्यांकअनुसार आठ महिनामा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ दुई खर्ब १४ अर्ब २७ करोड ९३ लाख आठ हजार रुपैयाँबराबरको आयात भएको छ । यसमध्ये डिजेल ८८ अर्ब ८८ करोड ९३ लाख १२ हजार रुपैयाँ पेट्रोल ४४ अर्ब ६३ करोड ६७ लाख ६८ हजार रुपैयाँ र खाना पकाउने ग्यास ३५ अर्ब ८७ करोड ७० लाख ३६ हजार रुपैयाँको आयात भएको छ । त्यसपछि फलाम तथा स्टिल आयात भएको छ । स्पन्ज आइरन २५ अर्ब ९१ करोड ४१ लाख ३७ हजार रुपैयाँ, स्टिल २४ हर्ब ४७ करोड ७३ लाख १४ हजार रुपैयाँ, स्मार्टफोन १९ अर्ब ३७ करोड ७७ लाख ६८ हजार रुपैयाँ, औषधि १७ अर्ब ९६ करोड ५५ लाख ८१ हजार रुपैयाँ र सुन १६ अर्ब १२ करोड २५ लाख ८२ हजार रुपैयाँको आयात भएको छ ।
सबैभन्दा धेरै व्यापार हुने देश
सबैभन्दा धेरै वैदेशिक व्यापार भारतसँग भएको छ । भारतबाट छ खर्ब ३८ अर्ब १७ करोड ७७ लाख २७ हजार रुपैयाँको आयात भएको छ भने निर्यात ६८ अर्ब ५१ करोड २७ लाख ४२ हजार रुपैयाँको भएको छ । भारतसँग पाँच खर्ब ६९ हर्ब ६६ करोड ४९ लाख ८४ हजार रुपैयाँ व्यापारघाटा छ । भारतपछि चिनसँगको व्यापार धेरै छ । चीनबाट एक खर्ब ९४ अर्ब ८७ करोड ४४ लाख दुई हजार रुपैयाँको आयात भएको छ भने नेपालबाट एक अर्ब ९५ करोड एक लाख २० हजार रुपैयाँको निर्यात भएको छ । भारत र चीनपछि यूएई, युक्रेन, मलेसिया, अमेरिकालगायतका मुलुकबाट आयात भएको छ । नेपालबाट सबैभन्दा धेरै निर्यात हुने मुलुकमा चीन पाँचौँ नम्बरमा छ । भारतपछि अमेरिकामा धेरै निर्यात भएको छ । अमेरिकामा ११ अर्ब एक करोड ६१ लाख ५२ हजार रुपैयाँको निर्यात भएको छ । त्यसपछि धेरै निर्यात हुने मुलुकमा जर्मनी, बेलायत, चीन, यूएई, फ्रान्स छन् ।