पाँचथर । चट्याङले लागेर पाँचथरमा प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक सुमित कुशवाहाले गएराति प्रहरी चौकीको ढोकामा उभिएका माझीलाई चट्याङको झड्का लागेको जानकारी दिए । चौकीमा रहेका अन्य प्रहरीले माझीलाई उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पुर्याएका थिए ।
प्रनि कुशवाहाले प्राथमिक उपचारपश्चात् थप उपचारका लागि मध्यरात जिल्ला अस्पताल पुर्याएको माझीलाई चिकित्सकले मृत घोषित गरेको बताए । उनका अनुसार प्रहरी सहायक हवल्दार माझी साँझको गस्ती गरिरहेका बेला हावाहुरीसहित पानी परेपछि कार्यालय फर्किएर चौकीको ढोकामा उभिएको अवस्थामा चट्याङको झड्का लागेको थियो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरले मोरङको ग्रामथान गाउँपालिका–४ घर भएका माझी इलाका प्रहरी कार्यालय मौवामा दरबन्दी भई प्रहरी चौकी गोपेटारमा कार्यरत रहेको जनाएको छ । प्रहरीले मृतक माझीको शव परीक्षणका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको जनाएको छ ।