काठमाडौं । गत फागुन २८ गते सोमबार बिहान करिब ४ बजेतिर झापास्थित भगवती लेमिनेट्स प्रालि नामको उद्योगमा भीषण आगलागी भयो । झापाको मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित उद्योगमा लागेको आगलागी नियन्त्रणमा लिन छिमेकी जिल्लाबाट समेत झिकाइएका १० वटा दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई करिब १२ घण्टा लाग्यो ।
नेपालकै ठूलोमध्येको एक प्लाइउड कम्पनी भगवती लेमिनेट्सले नेपप्लाई ब्रान्डका प्लाइउड उत्पादन गर्दै आएको छ । कम्पनीमा भीषण आगलागी हुँदा उद्योगका धेरैजसो सामान जलेर खरानी भएका छन् । भीषण आगलागी हुनुका पछाडि भवितव्यभन्दा पनि नियतवश बीमा दाबीभुक्तानी लिन गरेको देखिएको छ । स्थानीयबासीले भगवती लेमिनेट्सको आगलागी नियोजित भएको आरोप लगाउँदै आएका छन् ।
भगवती लेमिनेट्सले शिखर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा बीमा गरेको छ । गत फागुन २८ गते भएको आगलागी घट्नाको बीमा शिखर इन्स्योरेन्स कम्पनीमा गरेको पाइएको छ । भगवती लेमिनेट्सले शिखर इन्स्योरेन्स कम्पनीमा बीमा दाबीभुक्तानी लिनको लागि कम्पनीमा नियोजितरूपमा आगो लगाएको आशंका स्थानीयले गरेका छन् ।
कम्पनीले आन्तरिक राजस्व कार्यालयमा बुझाएको खरिदबिक्रीसम्बन्धी लगबुकमा आर्थिक वर्षको अन्त्यमा मात्रै शंकास्पद खरिद देखाएको छ । एकातिर कम्पनीको खरिद शंकास्पद हुनु अर्कोतिर कम्पनीमा हुँदै नभएको स्टक आगो लागेर जलेर खरानी भयो भन्दै बीमा दाबी माग गर्ने प्रक्रिया अघि बढाउनुले घटनालाई थप रहस्यमय देखाएको छ ।
आर्थिक दैनिकलाई प्राप्त कम्पनीको गत आर्थिक वर्षको आयव्यय विवरणअनुसार कम्पनीले ५१ करोड ५१ लाख ७४ हजार सात सय ११ रुपैयाँको खरिद गरेको छ । त्यस्तै गत आर्थिक वर्षमा कम्पनीले ४८ करोड ३७ लाख ८८ हजार नौ सय ११ रुपैयाँको एक लाखभन्दा बढी मूल्यका बिलमार्फत बिक्री गरेको छ । लेखापरीक्षण प्रतिवेदनको आधारमा पनि कम्पनीले आर्थिक वर्ष २०७९/८० मा जम्मा ९९ करोड पाँच लाख ५९ हजार चार सय २४ रुपैयाँको बिक्री गरेको पाइएको छ ।
कम्पनीको नियमित स्टकमा बढी सामान देखाएर त्यहाँभित्र रहेको सामान अन्यत्रै राखी आगो लगाइएको स्थानीयवासीले दाबी गरेका छन् । पटक–पटक आगलागी हुने र बीमा कम्पनीसँग मिलेर बीमादाबी असुल्ने र बाँडेर खान पल्केको सो कम्पनीका अध्यक्ष विष्णु मदघोरिया र सञ्चालकहरू रजनिस कर्नानी, सन्तोष आचार्य, रतनलाल अग्रवाल, निर्मला कर्नानी, निर्मला सारिया, दीपेन्द्रकुमार अग्रवाल र रतनकुमार अग्रवालले यस पटक शिखर इन्स्योरेन्स कम्पनीसँग विशेष ‘सेटिङ’ गरेको स्रोतको दाबी छ ।
आगलागी भएर जलेका बस्तुहरू मेसिन तथा तयारी बस्तु र कच्चापदार्थ समेतमा क्षति पुगेको भन्दै बीमादाबी लिन खोजिएको छ । शिखर इन्स्योरेन्स कम्पनीमा मात्रै दाबी गर्ने हो वा अन्य बीमा कम्पनीमा पनि बीमा दाबी पर्दछ भनेर स्पष्ट भइसकेको छैन ।
नेपाली बीमा क्षेत्रमा डरलाग्दो रुपमा रहेको आफैँ आगो लगाएर दाबीभुक्तानी लिने रहेको छ । नियामक बीमा प्राधिकरणले गलत किसिमले बीमादाबी गर्नेलाई कारबाही गर्ने बताउँदै आएको छ । भगवती लेमिनेट्सको आगलागी सम्बन्धमा क–कसको मिलेमतो छ भनेर स्पष्ट हुन प्रहरीले थप छानबिन गर्नुपर्ने देखिएको छ ।