वासिड.टन, जेठ २५
अमेरिकामा पछिल्लो चरणमा राज्यहरुले आर्थिक क्रियाकलाप पुनः सुरु गर्न अनुमति दिएसँगै अर्थतन्त्रमा त्यसको सकारात्मक प्रभाव परेको तथ्यांकले देखाएको छ । अमेरिकी मिडियाहरुका अनुसार मे महिनामा २० प्रतिशतसम्म पुग्ने आँकलन गरिएको बेरोजगारी दर १३.३ प्रतिशतमा झरेको छ । अप्रिलमा यस्तो दर १४.७ प्रतिशत पुगेको थियो । जुन अहिलेसम्मकै उच्च हो ।
पछिल्लो सरकारी तथ्यांकले अमेरिकी श्रम बजारमा सुधार देखाएको हो । यसले विश्व महामारी कोरोनाभाइरसले अर्थतन्त्रमा पारिरहेको नकारात्मक प्रभावविरुद्ध केही आशा जगाएको छ । पछिल्लो समय खाद्य, निर्माण र स्वास्थ्यसम्बन्धी संस्थाहरुले कर्मचारी लिन थालेका छन् । उक्त महिना २५ लाख रोजगारी सिर्जना गरेको छ । शिक्षा र खुद्रा व्यवसायले पनि कर्मचारीलाई रोजगारी दिनथालेका छन् । यसअघि राज्यहरुले भाइरस फैलिने डरले सम्पूर्ण व्यवसाय सञ्चालनमा कडाइ गरिरहेका थिए ।
पछिल्लो तथ्यांकबाट अझै खराब अवस्था झेल्नुपर्ने डर देखाइरहेका अर्थशास्त्रीलाई समेत आश्चर्य बनाएको छ । मिसिगन विश्वविद्यालयका अर्थशास्त्री जस्टिन वल्फरले अर्थतन्त्रमा अब थप प्वाल नपर्नसक्ने बताएको बीबीसीले जनाएको छ । नयाँ तथ्यांकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि हौस्याएको छ । उनले ट्विटमार्फत यसलाई ठूलो उपलब्धिको संज्ञा दिएका छन् । नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनअघि अर्थतन्त्रमा सुधार आउनु उनका लागि पनि महत्वपूर्ण हुन्छ ।
मार्च र अप्रिल महिनामा अमेरिकी रोजगारदाताले २ करोड १० लाख रोजगारी कटौती गरेका थिए । अप्रिलमा बेरोजगारी दर १४.७ प्रतिशत पुगेको थियो जुन सन् १९३० ठूलो आर्थिक मन्दीयताकै ठूलो बेरोजगारी दर हो ।
नयाँ तथ्यांकपछि सेयर लगानीकर्तामा खुसी छाएको एजेन्सीहरुले जनाएका छन् । फेब्रुअरीसम्म अमेरिकी बेरोजगारी दर ५० वर्षयताकै न्यून अर्थात् ३.५ प्रतिशत मात्र रहेको थियो । केही विश्लेषकले भने यसलाई लिएर हौसिहाल्नुपर्ने स्थिति अझै नभएको बताएका छन् ।