अमेरिका, जेठ २५
कोरोनाभाइरससम्बन्धी पुस्तक प्रकाशनलाई लिएर दुई अमेरिकी अर्बपतिबीच वाक्युद्ध भएको छ । अर्बपति एलन मस्कले प्रविधि कम्पनी अमेजनको आलोचना गरेका हुन् । अमेजन अर्का अर्बपति जेफ बेजोसको कम्पनी हो । अमेजनले कोरोना महामारीसम्बन्धी पुस्तक अस्वीकार गरेपछि मस्कले आलोचना गरेका हुन् ।
उनले अमेजनको निर्णयलाई लिएर ट्विटरमा बेजोसलाई मेन्सन गर्दै ‘पागलपन’को संज्ञा दिँदै अमेजनलाई छोड्न आह्वान गरे । अमेजनले भने आफ्नो साइटमा उक्त पुस्तक गल्तीवश हटेको र पुनः राखिने स्पष्टीकरण दिएको छ । पुस्तकका लेखक एलेक्स बेरिनसनले भने अमेजनले उनलाई पुस्तकले अमेजनको गाइडलाइन पूरा नगरेको सूचना दिएको जनाएका छन् ।
उनले भनेका छन्, ‘उनीहरुले मेरो पुस्तकमा अंकुश लगाए, यो पूर्णतया सरकारी तथ्यांक र वैज्ञानिक शोधअनुसार प्रकाशन गरिएको हो । यसले कोरोनाभाइरस वास्तविक हैन र मानिसहरुलाई मार्दैन भन्ने कुरा गर्दैन ।’ मस्कले यसअघि लकडाउन गराउने निर्णयलाई फासीवादको संज्ञा दिएका थिए । यसविरुद्ध आफ्नो क्यालिफोर्नियामा रहेको फ्याक्ट्री नै अन्तै सार्नेसम्मको चेतावनी दिएका थिए ।
मस्क र बेजोस दुवै अन्तरिक्ष यात्रालाई सर्वपहुँच बनाउने महत्वाकांक्षामा प्रतिस्पर्धी हुन् । मस्कको कम्पनी स्पेस एक्स सन् २००२ मा स्थापना भएको थियो । त्यसको दुई वर्षअघि बेजोसले रकेटसम्बन्धी कम्पनी ब्लु ओरिजिन सुरु गरेका थिए । गत वर्ष बेजोसले मस्कको मंगल ग्रहमा उपनिवेश बनाउने महत्वाकांक्षा पालेको भन्दै आलोचना गरेका थिए ।