गोदावरी (कैलाली) । कैलालीको मोहना र खुटिया नदीमा एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा नदी कटान तथा रोकथाम नियन्त्रणका लागि ५२ करोड लागतमा तटबन्ध निर्माण भइरहेको छ ।
जनताको तटबन्ध कार्यालय कञ्चनपुरले बर्खामा नदीले खेतीयोग्य जमिन तथा बस्ती कटान गर्ने भएकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि एसियाली विकास बैङ्क (एडिबी) को लगानीमा मोहना र खुटिया नदीमा तटबन्ध निर्माण भइरहेको जनाएको छ ।
जनताको तटबन्ध फिल्ड कार्यालय कञ्चनपुरका सबइन्जिनियर प्रकाश खड्काले मोहना र खुटिया नदीमा १२ किलोमिटर तटबन्ध निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । सबइन्जिनियर खड्काले ती दुवै नदीमा १२ वटा प्याकेजमा तटबन्ध निर्माणको काम भइरहेको र नदीमा तटबन्ध निर्माणका लागि आर्थिक वर्ष २०७८/७९ मा तीन वर्षभित्र काम पूरा गर्ने गरी टिम्स–राजेन्द्र–कुमार जेभीसँग ५२ लाखमा ठेक्का सम्झौता भएको पनि बताए ।
केही प्याकेजको काम पूरा भइसके बताउँदै उनले दुवै नदीमा अहिलेसम्म ६० प्रतिशत काम सम्पन्न भइसकेको बताए । निर्माण कम्पनीले चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी तटबन्धको काम भइरहेको खड्काको भनाइ छ ।
तटबन्ध कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदीमा सात सय मिटर तटबन्ध निर्माणको काम पूरा भएको छ । सोही नदीको कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ मा एक हजार तीन सय ५० मिटर तटबन्ध निर्माण सकिएको जनाइएको छ । मोहना नदीमै पिआरटिडब्लु–१२ ‘बी’ प्याकेजअन्तर्गत तथा कञ्चनपुरको जोरायल टोलतर्फ पाँच सय २० मिटर तटबन्ध निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।
यसैगरी, धनगढी उपमहानगरपालिका–१३ स्थित श्रीलङ्कामा चार सय ३० मिटर तटबन्ध निर्माण सम्पन्न भइसकेको र कृष्णपुर नगरपालिका–१, मोहना नदीमै छ सय मिटर बाँध र सात सय मिटर तटबन्ध निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ ।
वर्षायाममा मोहना र खुटिया नदी बर्सेनि सयौँ हेक्टर जमिन कटान गर्दै आएकामा जनताको तटबन्ध कार्यक्रमले नदी कटान तथा रोकथाम नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । ती दुवै नदीबाट हुने सम्भावित क्षति रोक्न तटबन्ध निर्माण प्रभावकारी हुने जनाइएको छ ।