काठमाडौं, जेठ २५
यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बीमितहरूले अनलाइन सेवा प्रदायक कम्पनीहरू कनेक्ट आईपीएस, खल्ती र सेल–पेबाट जुनसुकै प्रकारको बीमाशुल्क रकम भुक्तानी गर्न पाउने भएका छन् । कम्पनीले हालै अनलाइन सेवा प्रदायक कम्पनीहरू कनेक्ट आईपीएस, खल्ती र सेल–पेसँग बीमाशुल्क भुक्तानीसम्बन्धी सम्झौता गरेको हो । यो सम्झौता भएसँगै कम्पनीका बीमितहरूले घरमै बसेर प्रथम बीमाशुल्क, नवीकरण बीमाशुल्क तथा बीमालेखअन्तर्गतको ऋणलगायत सबै प्रकारका शुल्कहरू भुक्तानी गर्नसक्ने भएका छन् ।
यसैगरी उक्त अनलाइन सेवा प्रदायकहरूबाट अभिकर्ताहरूले समेत रकम भुक्तानी गर्नसक्ने व्यवस्था गरिएको छ । बीमित तथा अभिकर्ताहरूले घरमा बसेर नै बीमाशुल्क भुक्तानी गर्ने ब्यवस्था गरिएको कारण कम्पनीको बीमा सेवा उपभोग गर्न निकै सहज हुने कम्पनीले जानकारी दिएको छ ।
लकडाउनको जटिल अवस्थामा अनलाइन भुक्तानीबाट बीमित तथा अभिकर्ताहरूले फाईदा लिने कम्पनीले अपेक्षा गरेको छ । आगामी दिनमा बीमित तथा अभिकर्ताहरूलाई फाइदा पुग्ने गरी थप प्रविधियुक्त सेवा सुविधाहरू उपलब्ध गराउदै जाने कम्पनीले जानकारी दिएको छ । देशव्यापी रूपमा शाखा सञ्जाल विस्तार गरेको युनियन लाइफल बीमा क्षेत्रमा समेत छोटो अवधिमा स्थापित हुन सफल भएको जानकारी दिएकोे छ ।
हाल चुक्ता पुँजी एक अर्ब ५० करोड ५० लाख रूपैयाँ रहेको कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा आठ करोड ९२ लाख ५९ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा १० करोड ८० लाख ८३ हजार रूपैयाँ रहेको थियो ।