काठमाडौं, जेठ २५
अनलाइन सञ्चार माध्यममा कार्यरत सबै पत्रकारहरूको कोरोना बीमा गरिएको छ । अनलाइन पत्रकारहरूको छाता संगठन अनलाइन पत्रकार संघका अनुसार संघमा आबद्ध भएका सबै पत्रकारहरूको एक लाख रूपैयाँ बीमाङ्कबराबरको कोरोना बीमा गरिएको हो ।
अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हकलगायत पत्रकारिताका क्षेत्रमा सक्रिय संस्था फ्रिडम फोरमको आर्थिक सहयोगमा कोरोना बीमा भएको संघले जानकारी दिएको छ । यो बीमा कार्यक्रमका लागि संघका सदस्य साथीहरूले बीमाशुल्क तिर्नुपर्नेे छैन । अनलाइन पत्रकार संघ र फ्रिडम फोरमको सहकार्यमा फोरमले बीमा शुल्क तिरेर नेपालको अग्रणी बीमा कम्पनी शिखर इन्स्योरेन्समा बीमा गराइएको हो ।
अहिले नेपाली पत्रकारिताको मूलधारको रूपमा स्थापित भइसकेको अनलाइन पत्रकारितमा संलग्न पत्रकार साथीहरू समाचार संकलन, सम्पादन, प्रकाशन तथा प्रसारणजस्ता कार्यका लागि कार्यस्थलमा खटिनु पर्ने र कोरोना भाइरस (कोभिड १९) संक्रमणको उच्च जोखिम क्षेत्रमा रहेर समेत काम गर्नुपर्ने अवस्थाका कारण कोरोना बीमाले श्रमजिवी पत्रकारलाई केही राहत मिल्ने विश्वास संघ र फोरमले लिएका छन् ।
अनलाइन पत्रकार संघमा आबद्ध सबै पत्रकारहरूको कोरोना बीमाको लागि लाग्ने बीमाशुल्क तिरेर बीमा गराउन सहयोग गरेकोमा फ्रिडम फोरमप्रति संघले विशेष अभार व्यक्त गरेको जनाएको छ । आगामी दिनमा पनि यो प्रकारको सहयोग र सहकार्यका लागि फोरमसँग संघले अपेक्षा पनि गरेको छ ।
श्रमजिवी पत्रकारहरूको संस्था अनलाइन पत्रकार संघले आफ्ना सदस्य साथीहरूको क्षमता अभिवृद्धि, पेशागत सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रताजस्ता विषयमा गम्भीर वकालत र पहलकदमी लिँदै आएकोमा आगामी दिनमा पनि सदस्यहरूलाई बढीभन्दा बढी फाइदा पुग्ने प्रकारका कार्यक्रमहरू सञ्चालन गर्ने विश्वास दिलाउन चाहन्छौं, संघले भनेको छ ।