चितवन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सोमबार पत्रकारहरुसँग कुरा गर्दै तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको भएको बताएका छन् । उनले स्थानीय तह र प्रदेशसभाको सेतुको रुपमा राष्ट्रियसभाले काम गर्ने उल्लेख गरे ।
अध्यक्ष दाहालका अनुसार प्रदेश र स्थानीय तहका भावना, समस्या, जटिलता र सम्भावना राष्ट्रियसभामा विषयवस्तु बनाएर छलफल सुरु गरिसकिएको छ । त्यहाँ छलफल भएका विषयवस्तु प्रतिनिधिसभा हुँदै सरकारसम्म पुग्ने उनले बताए ।
अध्यक्ष दाहालले हरेक महिनाको अन्तिम साता सातै प्रदेशका समस्या र ती समस्या समाधानका विषयमा राष्ट्रियसभामा छलफल सुरु गरिएको बताए । तीनै तहका सरकारलाई जोड्ने काममा राष्ट्रियसभाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने अध्यक्ष दाहालले बताए ।
अझै पनि राष्ट्रियसभाको महत्व धेरैले बुझ्न नसकेको बताउँदै उनले राष्ट्रिय सभाको महत्व स्थापित गर्न आफू लागि पर्ने उल्लेख गरे । राष्ट्रियसभामा अधिकांश विधयेक सर्वसम्मत पारित हुने गरेको भन्दै उनले राष्ट्रियसभामा आउने विधेयक लामो समय नरोकिने पनि स्पष्ट पारे ।