काठमाडौँ । चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगिक क्षेत्रको विषय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताएका छन् ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित चितवनको कालिका नगरपालिकाबाट आएको नगरप्रमुख विनोद रेग्मी नेतृत्वको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री निवास बालुवाटामा सोमबार भएको भेटघाटका क्रममा प्रधानमन्त्री दाहालले उक्त कुरा बताएको हो ।
भेटमा सहभागी कालिका नगरप्रमुख रेग्मीले शक्तिखोर औद्योगिक क्षेत्र स्थापनाका साथै समग्र कालिकाको विकास र समृद्धि तथा समावेशी शिक्षालगायत विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराइएको बताए । चितवनको कालिका नगरपालिकामा शक्तिखोर औद्योगिक क्षेत्र बनाउने भनेर लामो समयदेखि प्रयास भए पनि बन्न सकेको छैन ।
चितवनबाट प्रमुख रेग्मी नेतृत्वको प्रतिनिधिमण्डल सोमबार काठमाडौँ आएको हो । सो अवसरमा प्रधानमन्त्री दाहालले भेटघाटमा सहभागी भएका अर्थमन्त्री वर्षमान पुनलाई रोकिएको बजेट निकासका लागि निर्देशनसमेत दिएको नगरप्रमुख रेग्मीले जानकारी दिए ।